५ जेष्ठ २०८१, शनिबार

बुद्धिजीवीहरूको सल्लाह– सुशासनलाई प्रमुख चुनावी एजेण्डा बनाऊ



धनगढी । आसन्न स्थानीय निर्वाचनमा सुशासनलाई प्रमुख चुनावी एजेण्डा बनाउन बुद्धिजीवीहरूले नेपाली काँग्रेसलाई सुझाव दिएका छन् ।
‘अहिले कुनै पनि राजनीतिक दलले चुनावी घोषणापत्रमा सुशासनलाई प्राथमिकता दिएको पाइएको छैन’ प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको ‘नववर्ष २०७४ को शुभकामना आदानप्रदान तथा आसन्न स्थानीय तह निर्वाचन’ विषयक् अन्तरक्रियामा उनीहरूको सुझाव थियो– ‘देशमा भ्रष्टाचार मौलाएको छ, यसले बेरोजगारी बढेको छ र जनताको आधारभूत आवश्यकतामा पनि नकारात्मक असर गरेको छ ।’
कार्यक्रममा सहभागी प्राध्यापकहरूले नेपाली काँग्रेसले सुशासनलाई प्राथमिकताका साथ आफ्नो एजेण्डा बनाउनुपर्ने सुझाव दिए । शिक्षा क्षेत्रलाई व्यवस्थित गर्ने, रोजगारीको उल्लेख्य बृद्धि, खानेपानी, स्वास्थ्य तथा विद्युत सेवाको विस्तार, तीब्र औद्योगिकीकरण, वातावरण संरक्षण जस्ता जनताका आधारभूत आवश्यकतालाई काँग्रेसको ठोस प्रतिवद्धता आउनुपर्ने प्राध्यापकहरूको सुझाव छ ।
कार्यक्रममा सांसद पुष्करनाथ ओझाले नेपाली काँग्रेसले जहिले पनि जनताको चाहना र आकांक्षा अनुरूप नै काम गर्ने प्रतिवद्धता दोहोर्‍याए । उनले जनताको हितमा काम गर्न पनि स्थानीय तहको चुनावमा काँग्रेस पहिलो पार्टी बन्नु पर्ने चर्चा गरे ।
‘नेपाली काँग्रेसको मुल नारा भनेकै तीब्र आर्थिक समृद्धि हो’ सांसद ओझाले भने– ‘राष्ट्रलाई समृद्धितर्फ अघि बढाउन प्राध्यापकहरूबाट व्यक्त सुझावहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न नेपाली काँग्रेस कटिबद्ध छ ।
नेपाली काँग्रेस, कैलालीका सभापति नरनारायण शाह (मनु) ले काँग्रेसलाई देशकै पहिलो पार्टी बनाउन प्राध्यापक, बुद्धिजीवीको साथ र सहयोग आवश्यक रहेको बताए । जिल्ला सभापति शाहले स्थानीय तह निर्वाचनमा काँग्रेसले योग्य, इमान्दार र विकासका प्रति प्रतिवद्ध कार्यकर्तालाई नै उम्मेदवार बनाउने दोहोर्‍याए ।
कार्यक्रममा सांसद प्यारेलाल रानाले पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा प्रचारप्रसारमा इमान्दारिपूर्वक जुट्न आग्रह गरे । ‘पार्टीले योग्य व्यक्तिलाई नै टिकट दिन्छ, मैले टिकट पाएन भनेर पछि नहट्नुहोला’ सांसद रानाले भने– ‘यो चुनाव पार्टीको अस्तित्वसंग जोडिएकोले व्यक्तिलाई नभई पार्टीको पक्षमा एकजुट हुनुहोला ।’
कार्यक्रममा पूर्व सांसद हिरादत्त भट्ट, नेता नारायणदत्त मिश्र, महासमिति सदस्य नारायणदत्त भट्ट, धनगढी उपमहानगरपालिका सभापति नृप वड, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा र क्षितिज भण्डारी, पूर्व क्षेत्रीय सभापति उद्धवबहादुर बिष्ट, नेपाल महिला संघकी केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नेपाल विद्यार्थी संघका सहमहामन्त्री प्रेमराज जोशी, शिक्षक टिएन जोशी लगायतले धारणा व्यक्त गरेका थिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ, कैलालीका अध्यक्ष जगन्नाथ जोशीको अध्यक्षतामा भएको कार्यक्रममा टेकबहादुर अधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार