१ जेष्ठ २०८१, मंगलवार

सात नम्वर प्रदेशमा कांग्रेस र माओवादीबीच तालमेलको सम्भावना



धनगढी । आसन्न स्थानीय तह निर्वाचनमा सात नम्वर प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलको सम्भावना बढेको छ । यसका लागि दुवै पार्टीका नेताहरूबीच वार्ता शुरु भएको बताइएको छ ।
जेठ ३१ गते प्रस्ताव गरिएको सात नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा तालमेलका लागि माओवादी केन्द्रले कांग्रेससंग प्रस्ताव राखेको स्रोतले जनाएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले सात नम्बर प्रदेशका स्थानीय तहका कुल सिटमध्ये ६० प्रतिशत कांग्रेसले पाउने गरि तालमेलको प्रस्ताव गरेको छ ।
‘माओवादी केन्द्रका सात नम्बर प्रदेशका संयोजक लेखराज भट्टले चुनावी तालमेलको प्रस्ताव राख्नु भएको छ’ काँग्रेसका एकजना नेताले भने– त्यो प्रस्तावबारे पार्टीभित्र आन्तरिक छलफल गरिरहेका छौं ।
प्रस्तावबारे जानकारी लिन खोज्दा माओवादी केन्द्रका नेता तथा प्रदेश संयोजक भट्टसंग फोनसम्पर्क हुन सकेन ।
माओवादी सेन्टरले धनगढी उपमहानगरपालिका सहितका अधिकांश स्थानीय तहमा चुनावी तालमेलको प्रस्ताव गरेको बताइएको छ । काँग्रेससंग चुनावी तालमेलको सम्भावनाका कारण माओवादी केन्द्रले उम्मेदवारहरूको सूची हाललाई रोकेको बताइन्छ ।
संविधान सभाको दोस्रो निर्वाचन (२०७० साल) मा कैलालीको चार नम्बर निर्वाचन क्षेत्रमा मात्र जितेको माओवादी केन्द्र आफ्नो कमजोर अवस्थाका कारण चुनावी तालमेलको प्रयासमा रहेको बताइन्छ ।
गत संविधान सभामा सुदूरपश्चिमका पहाडी जिल्लामा काँग्रेसको अवस्था एमालेको तुलनामा कमजोर रहेको नतिजाले देखाएको थियो । माओवादीसंगको चुनावी तालमेलबाट सुदूरपश्चिममा पहिलो पार्टी बन्ने आँकलन गरी काँग्रेस पनि यसको पक्षमा रहेको बताइन्छ ।

चुनाव लड्दै शिक्षकहरू
बझाङ । बझाङमा चार जना शिक्षक आसन्न स्थानीय निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनाइएका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिकाको मेयर पदमा पाण्डु माध्यामिक विद्यालयका शिक्षक वीरेन्द्रबहादुर खड्का उम्मेदवार घोषणा गरिएका छन् । उनी २०४७ सालदेखि स्थायी शिक्षक हुन् ।
त्यस्तै, शिक्षक उत्तम बोहरालाई वडाध्यक्षको टिकट दिइएको छ । उनी नवदेव प्राविका राहत शिक्षक हुन् । नवादेव प्रावि राहत जागिर छोडेर वडाध्यक्षको लागि टिकट पाएका छन् । त्यस्तै, महादेव माध्यमिक विद्यालयका स्थायी शिक्षक कर्ण कुँवर राजिनामा दिएर चुनाव लड्न बैतडी गएका एमाले बझाङले जनाएको छ ।
बझाङको एक बालकक्षामा अध्यापन गर्दै आएकी राधिका रतालालाई छबीसपाथिभरा गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनाइएको छ ।
जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले चार जना शिक्षकले उम्मेदवार बन्नका लागि राजिनामा दिने जानकारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार