७ जेष्ठ २०८१, सोमबार

आसन्न स्थानीय तह निर्वाचन : एमालेले उम्मेदवारको चयन गर्‍यो, काँग्रेस र माओवादी छान्दै



बझाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि बझाङमा नेकपा १२ वटा स्थानीय तहका लागि प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्यका उम्मेदवार चयन गरेको छ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भने उम्मेदवारी छनोट प्रक्रिया जारी रहेको बताएका छन् । बझाङमा दुई नगरपालिका र दश गाउँपालिका रहेका छन् ।
एमाले बझाङका अध्यक्ष दिलबहादुर सिंहका अनुसार जयपृथ्वी नगरपालिकामा मेयर पदका लागि वीरेन्द्र खड्का र उपमेयरका लागि जुना जाग्रीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, बुंगल नगरपालिकामा मेयरमा धनबहादुर बोहरा र उपमेयरमा धनादेवी कँुवरलाई अघि सारेको छ ।
त्यस्तै, दश गाउँपालिकामध्ये काँडामा अध्यक्षमा मानबहादुर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ, तलकोट गाउँपालिकामा लालबहादुर बिष्ट र धनलक्ष्मी खत्री, मष्टा गाउँपालिकामा कर्णबहादुर बोहरा र भगवती बोहरा र सुर्मा गाउँपालिकाको अध्यक्षमा शेरबहादुर बोहरा र मातादेवी बोहरालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
त्यस्तै, छबीसपाथिभरा गाउँपालिकामा अक्कल धामी र राधिका रताला, छान्नामा मिश्र रोकाया र पाउसरा थापा, थलारामा भूवनेश्वर उपाध्याय र गंगुदेवी खडायत, केदारस्युमा ईन्द्र भण्डारी, दुर्गाथली गाउँपालिकामा प्रयागराज जोशी र पार्वतीदेवी जाग्री र बित्थडचिर गाउँपालिकामा प्रेम बोहरालाई अध्यक्ष र जानकी बोहरालाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।
एमालेले सबै १२ स्थानीय तहका सबै वडाध्यक्ष र सदस्यको पनि छनोट गरिसकेको जिल्ला अध्यक्ष सिंहले बताए ।
नेपाली कांग्रेसले उम्मेदवारी चयन प्रक्रिया अन्तिम चरणमा पुगेको बताएको छ । काँग्रेसका जिल्ला अध्यक्ष हर्कजङ सिंहले सबै नगरपालिका र गाउँपालिकाबाट उम्मेदवारका आकांक्षीको नाम संकलन भइसकेको र छनोट प्रक्रिया जारी रहेको बताए ।
नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खड्काले पनि सै आकांक्षीका नामावली संकलन भइसकेको र छिट्टै उम्मेदवार चयन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार