१० श्रावण २०८१, बिहीबार

सौर्य सडक बत्ती जडान हुँदै



धनगढी । धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा सौर्य सडक बत्ती जडान गर्ने कार्य अघि बढाईएको छ ।
सरकारले देशभरका नगर क्षेत्रको सडक क्षेत्रमा सौर्य बत्ती जडान गर्ने घोषणा गरेपछि ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तर्गत धनगढी उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा सौर्य सडक बत्ती जडान गर्ने कार्य अघि बढाइएको हो ।
सरकार, स्थानीय निकाय र जनताको पनि लगानीमा सञ्चालन गरिएको कार्यक्रममार्फत धनगढी उपमहानगरपालिकाका सडक बत्तीलाई विस्थापन गर्ने लक्ष्य अनुरूप यस आर्थिक वर्ष ६३ वटा सौर्य सडक बत्ती जडान गरिने धनगढी उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
सरकार, स्थानीय निकाय र जनता गरी यस वर्ष ५२ लाखमा यस क्षेत्रमा सौर्य सडक बत्ती जडान गरिन लागेको धनगढी उपमहानगरपालिकाका ईञ्जिनियर द्विजराज भट्टले बताए । इञ्जिनियर भट्टले चैत अन्तिम सातादेखि यस क्षेत्रमा पोल राख्ने कार्य सुरु गरिएको बताए । कार्यालयले बिहीबारसम्ममा ३१ वटा पोल राखिसकेको र अन्य स्थानमा राख्ने कार्य जारी रहेको छ ।
कार्यालयमा एक सय ९२ सोलार बत्तीका लागि आवेदन परे पनि मन्त्रालयबाट ५२ सोलार सडक बत्तीका लागि बजेट आएकोले पार्कमोड, हाटबजार, तारानगर, ओमशान्ति टोल, जानकी मन्दिर र बडहरा लगायतका स्थानमा गरी ६३ वटा सडक बत्ती जडान गरिन लागेको इञ्जिनियर भट्टले बताए ।
उनका अनुसार एउटा पोलमा सौर्य बिजुली जडान गर्न झन्डै एक लाख रुपैयाँ औषत खर्च अनुमान गरिएको छ ।
सरकारले पहिलो चरणमा देशभरमा नगर क्षेत्रमा यो योजना लागू गरेको छ । सहरलाई उज्यालो, सुरक्षित, सुन्दर बनाउन र लोडसेडिङको समस्या घटाउने गरी बिजुली बचत गर्न यो योजना सरकारले ल्याएका हो ।
‘जनसहभागिताकमा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तर्गत उपमहानगरले कुल लागतको ६० प्रतिशत अनुदान पाउनेछ भने स्थानीय निकायले २५ प्रतिशत लगानी गर्नुपर्नेछ । उपमहानगर क्षेत्रमा जडान हुने सौर्य सडक बत्तीमा जनताको १५ प्रशितत लगानी रहनेछ ।
यसै गरी, उपमहानगरपालिकामा सरकारको ६५, स्थानीय निकायको २० र जनताको १५ प्रतिशत लागत सहभागिता रहनेछ । नगरपालिकाहरूका लागि मन्त्रालयलेले ७० प्रतिशत अनुदान दिनेछ भने २० प्रतिशत स्थानीय निकायले बेहोर्ने छन् । नगर क्षेत्रका बासिन्दाले सौर्य सडकबत्तीका लागि १० प्रतिशत लगानी गर्ने छन् । विद्यालय, अस्पताल, क्याम्पस, सरकारी कार्यालय, सुरक्षा निकायल लगायतले कार्यालय आसपास सडक बत्ती जडान गर्न चाहेमा सरकारले ७० प्रशित अनुदान दिनेछ । खरिद प्रक्रिया भने सम्बन्धित स्थानीय निकाय र उपभोक्ता समितिले अघि बढाउन सक्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले सौर्य सडक बत्तीका लागि सौर्यपाता कम्तीमा २० वर्ष टिक्ने हुनुपर्ने मापदण्ड बनाएको छ भने ब्याट्री पाँच वर्ष र बत्ती दुई वर्ष ग्यारेन्टी भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार