३ जेष्ठ २०८१, बिहीबार

सरकारी अस्पतालमा अझैं फार्मेसी सञ्चालनमा आएनन्



धनगढी । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालको मातहतमा रहने फार्मेसी सञ्चालनका लागि आवश्यक बजेट छुट्याए पनि कैलालीमा अझै सञ्चालन हुन सकेका छैनन् । कैलालीका दुई सरकारी अस्पतालमा फार्मेसी सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक बजेट निकासा भइसकेको जनाइएको छ ।
फार्मेसी सञ्चालनका लागि मन्त्रालयले गत पुसमा सेती अञ्चल अस्पताल र टीकापुर अस्पताललाई अनुदान निकासा गरेको थियो । मन्त्रालयले गत चैत मसान्तभित्रै फार्मेसी सञ्चालन गरिसक्नुपर्ने परिपत्र गरे पनि दुवै अस्पतालले चासो नदेखाएकोले अझैं सञ्चालनमा आउन सकेको छैन । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशील प्याकुरेलका अनुसार सेती अञ्चल अस्पतालका दागि १५ लाख र टीकापुर अस्पतालमा फार्मेसी सञ्चालनका लागि १० लाख रुपैयाँ बजेट निकासा भइसकेको छ ।
बिरामीले सुपथ मूल्यमा सुलभ ढङ्गले गुणस्तरीय औषधी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउने व्यवस्था गरिएको क्षेत्रीय निर्देशक डाक्टर प्याकुरेलले बताए ।

फाइल तस्बिर

उनले फार्मेसी सञ्चालनका लागि मन्त्रालयले सुरुमा अुनदान रकम उपलब्ध गराउने र पछि फार्मेसीको आम्दानीबाट निरन्तरता दिनुपर्ने प्रावधान रहेको बताए ।
‘सरकारी अस्पतालमा फार्मेसी सञ्चालनको एउटै उद्देश्य औषधीको गुणस्तरीयता कायम गर्ने र निजी फार्मेसीबाट बिरामी ठगिने क्रम कम गर्नु हो’ निर्देशक डाक्टर प्याकुरेलले भने– ‘अस्पताल परिसरभित्रै फार्मेसी सञ्चालन भएपछि आम बिरामीलाई सहज र सुलभरूपमा औषधी उपलब्ध हुने र अस्पतालको आम्दानी पनि बढ्ने छ ।’
स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका जिल्लाका सरकारी अस्पतालमा फार्मेसी सञ्चालन गर्न प्राथमिकता दिएको बताइएको छ । कैलालीमा पहिलो चरणमा एक वर्षअघि नै स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कैलालीका प्रबन्धक नरेश चौधरीले फार्मेसी सञ्चालनका लागि आवश्यक पूर्वाधार नभएकोले सञ्चालनमा कठिनाइ भएको बताए । उनले भने– ‘दुईटै अस्पतालसंग फार्मेसी राख्ने कक्ष छैनन् । भएका सटर पनि भाडामा दिएकाले फार्मेसी सञ्चालन गर्न सकिएको छैन ।
सेती अञ्चल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रीता बम भण्डारीले फार्मेसीका लागि टेण्डर आह्वान भइसकेकोले छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिइन् ।
स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाहरूमा आफ्नै फार्मेसी हुनुपर्ने भन्दै अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२’ लागू गरेको छ ।
निर्देशिकाको प्रस्तावनामा स्वास्थ्य सेवामा प्रभावकारी रूपमा सबैको पहुँच सुनिश्चित गर्न फार्मेसी विषयमा दक्ष जनशक्तिमार्फत अस्पतालबाट आफ्नै फार्मेसी सञ्चालन गरी बिरामी एवं सेवाग्राहीलाई सुलभ तथा गुणस्तरीय सेवा पुर्‍याउन सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी निर्देशिका बनाइएको उल्लेख छ ।
सरकारले नि:शुल्क उपलब्ध गराउने भनिएका ७० प्रकारका औषधी त्यही फार्मेसीबाट उपलब्ध गराउने नीतिमा उल्लेख छ । तर, अस्पतालले फार्मेसी सञ्चालन नगरेकाले सर्वसाधारणले ती औषधि किन्नुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार