१० श्रावण २०८१, बिहीबार

महिलामाथि दुव्र्यवहार गर्न खोज्नेमाथि कारबाही माग



धनगढी । एक जना प्रहरी जवानसहित दुई जनाले एक महिलामाथि दुव्र्यवहार गर्न खोजेको भन्दै महिला अधिकारकर्मीहरूले कारबाहीको माग गरेका छन् ।
गत आइतबार अबेर रातीसम्म सुख्खडस्थित आफ्नो कार्यालयमा काम गरिरहेकोको अवस्थामा ती महिलामाथि इलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका प्रहरी जवान नारायण शाही र घोडाघोडी नगरपालिका (साविक साडेपानी गाविस) का २५ वर्षीय दर्शन बमले दुव्र्यवहार गर्न खोजेको महिला अधिकारकर्मीहरूको भनाई रहेको छ ।
‘अबेर राति आफ्नो कार्यालयमा काम गरिरहेकी थिएँ । रक्सीले मातिएर आएका प्रहरी जवान शाही र बमले मेरो कोठाको ढोका ढकढक्याए । को हुन् भनेर खोलेर हेर्दा उनीहरूले मलाई जबरजस्ती गर्न खोजे’ पीडित महिलालाई उधृत गर्दै महिला अधिकारकर्मीहरूले अनुमोदनलाई बताए ।
ती महिलालाई हाल ओरेकको धनगढीस्थित सेफ हाउसमा राखिएको छ । घटनाबारे के भएको हो ? भनेर दुवै पक्षसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर बुढामगरले बताए ।
बिहीबार महिला अधिकारकर्मीहरू र पीडित महिलाका आफन्तले जिल्ला प्रहरी कार्यालय, कैलालीमा पुगेर घटनामा दोषीमाथि कारबाहीको माग गरे ।
उनीहरूले पीडितले न्याय पाउनुपर्ने माग गर्दै प्रहरीले घटनालाई अन्यन्त्रै मोडेर सार्वजनिक मुद्दाको केस बनाउन खोजेको भन्दै आपत्ति समेत जनाएका थिए ।
घटनामा संलग्न भनिएका प्रहरी जवान शाहीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । त्यस्तै, बमलाई प्रहरीले भनेको समयमा उपस्थित गराउने सर्तमा आफन्तको जिम्मा छोडिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार