११ श्रावण २०८१, शुक्रबार

यज्ञराजको एकल साँझ : ‘राइझुमा’ मा झुमे दर्शक



धनगढी । २०७३ चैत्र ३० गते बुधवार साँझ । ठुलो सङ्ख्यामा महिलासहित खचाखच भरिएको धनगढीस्थित ओमप्यालेस । साँझ छिप्पीदै जाँदा दर्शक/श्रोता ठुलो स्वर गर्दै गीतसँगै ताल मिलाउन मग्न थिए । हलमा गीत गुन्जियो– ‘राइझुमा झुमा क्या मस्क्याकी छओ राइझुमा…’ एकाएक पुरै दर्शक जुरुक्क उठे । र गीत र संगीतसंगै दर्शकहरूको लयवद्ध ताली थपियो ।
सुदूरपश्चिमका चर्चित लोकगायक यज्ञराज उपाध्यायको चर्चितमध्येको एक राइझुमाले फेरि एक पटक धनगढीबासीलाई नचायो । ‘मैले २०४२ सालमा यही गीतबाट रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेको थिए’ लोकगायक उपाध्यायले अनुभव सुनाए– यो गीत राउटेदेखि कुइरे (पश्चिमा) सम्मले मन पराएका छन् । सुदूरपश्चिमवासीले निकै मन पराएको चर्चित राइझुमा गीतमा पछिल्लो पटक रिमिक्स पनि गरिएको छ । गायक उपाध्याये कार्यक्रममा त्यसको रिमिक्स पनि सुनाएका थिए ।
सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीद्वारा आयोजित ‘शान्ति र सद्भावका लागि साहित्यिक/सांस्कृतिक देशदर्शन अभियान’ को सहयोगार्थ डेउदा गायक समेत रहेका उपाध्यायको एकल सागीतिक साँझ भएको थियो ।
उपाध्यायले जुनतारा, टिपटिप मायालुले खस्यो हातको रुमाल, लाग्दछ स्वर्ग क्या राम्रो हाम्रो नेपाल, डोटीकाँडा जस्ता डेढ दर्जन गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
धनगढीका विभिन्न क्याम्पस अध्यक्ष, क्याम्पस प्रमुखहरु, साहित्यकार, बुद्धिजीवी, संगीतप्रेमी, पत्रकार, व्यावसायी र सर्वसाधारणले खचाखच भरिएको हलमा गायक शंकरसिंह विष्टले पनि मनोरन्जन गराएका थिए । उनले सुदूरपश्चिम स्वर्गसरी र गढवाली गीत प्रस्तुत गरेका थिए ।
एकल साँझको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले देउडालाई राष्ट्रियकरण गर्न उपाध्याय लगायतका कलाकारहरूको ठुलो योगदान रहेको चर्चा गरे । प्रजिअ रिजालले देशदर्शन कार्यक्रम सांस्कृतिक स्वाभिमानको सुन्दर परिकल्पना रहेकोले अभियान सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।
सो अवसरमा समाजका अध्यक्ष रामलाल जोशीले शान्ति र सदभावका लागि साहित्यिक/सांस्कृतिक देशदर्शन अभियान सञ्चालन गर्न एकल साँझ कोशेढुंगा साबित हुने बताए ।
अध्यक्ष जोशीले नेपालका प्रमुख सहर र भारतको सिक्किम, दार्जलिङसम्म सुदूरपश्चिमको कला, संस्कृतिको प्रचारप्रसार गरिने अभियानमा १२ देखि १५ लाख रुपैयाँ खर्च हुने बताए ।
आगामी जेठ १५ देखि सुरु हुने १५ दिने अभियानले राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष पनि सुदूरपश्चिमको संस्कृति प्रस्तुत गर्ने अध्यक्ष जोशीले बताए । अभियानमा संस्कृतिकर्मी, साहित्यकार र पत्रकार गरेर ४० जना सहभागी हुने जनाइएको छ ।
कार्यक्रममा गायक बिस्टलाई ११ हजार रुपैयाँ राशिको देवकान्त युवा लोकसाहित्य पुरस्कार र साहित्यकार गणेशदत्त न्यौपानेलाई गणेश स्मृति हेमन्ती पुरस्कार प्रदान गरियो ।
त्यस्तै, साहित्य समाजको भवन निर्माणमा ठुलो सहयोग र समाजसेवा गरेकोमा गजेन्द्र चन्द र मोहनबहादुर रावललाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार