७ जेष्ठ २०८१, सोमबार

काँग्रेसको प्रदेश स्तरीय आमसभा : नेताहरूले उद्घोष गरे– राष्ट्रलाई तोड्न खोज्नेहरूलाई परास्त गर्छौ



अत्तरिया (कैलाली) । नेपाली काँग्रेसका शीर्ष नेताहरूले मुलुकभित्र अनेक नाममा जातजातीबीच फुट र कटुता बढाउन षड्यन्त्र गरिरहेका तत्त्वहरूलाई परास्त गर्ने दृढता दोहोर्‍याएका छन् ।
शीर्ष नेताहरूले मुलुकभित्र पहाडी, मधेसी, थारु आदि समुदायलाई एकआपसमा लडाउने र राष्ट्रलाई कमजोर पार्ने खेल भइरहेकोले त्यसलाई परास्त गर्न सम्पूर्ण जनता एकजुट हुन पनि आह्वान गरे ।
‘प्रमुख प्रतिपक्षी दल एमाले नै नेपालका विभिन्न जातजाति तथा भाषाभाषीबीच कटुता सिर्जना गर्ने, लडाउने खेलमा लागेको छ’ आइतबार कैलालीको अत्तरियामा प्रदेश नम्बर ७ स्तरीय आमसभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने– पहाड मात्रै भनेर मधेसको विरोध गर्ने र मधेस मात्रै भनेर पहाडको विरोध गर्ने दुवै प्रवृत्तिबाट राष्ट्र बलियो हुँदैन भन्ने सबैले बुझ्नु जरुरी छ ।
उनले मुलुकका सबै जातजाती, भाषाभाषीबीचको एकता र मेलमिलापले मात्रै राष्ट्र र राष्ट्रियता बलियो हुने चर्चा गरे । सभापति देउवाले एमालेका कारण मधेसी दल तथा मधेसी जनतामा आक्रोस बढेको आरोप लगाए । ‘प्रमुख प्रतिपक्षी दल एमालेले मधेसी जनतालाई चिढाउने काम गरिरहेको छ’ एमालेप्रति आक्रामक देखिएका सभापति देउवाले भने– मुलुकको सिमानाको रक्षा गरिरहेका नेपाली जनतालाई चिढाएर राष्ट्र बलियो हुनसक्दैन ।
उनले एमालेले काँग्रेसले जम्मा गरेको राष्ट्रको ढुकुटीबाट जथाभावी रकम बाडेर सस्तो र क्षणिक लोकप्रियता लिने गरेको आरोप लगाए । ‘काँग्रेसलाई विश्वास गरेर विदेशी तथा दातृ निकायले आर्थिक सहयोग, अनुदान दिन्छन्, काँग्रेसले राष्ट्रको ढुकुटी बलियो बनाउने गर्छ’ उनले आरोप लगाए– तर एमाले सरकारमा गएपछि त्यही ढुकुटीबाट जथाभावी रकम बाडेर सस्तो लोकप्रियता लिन खोज्छ ।
उनले स्थानीयदेखि सङ्घीय निर्वाचनसम्म काँग्रेसलाई विजयी गराउन आह्वान गरे । ‘यो निर्वाचनमा काँग्रेसलाई विजयी गराउनुहोस्, हामी बृद्धबुद्धा, असक्त भत्ता अहिलेकोभन्दा दोब्बर गराउँछौं’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले थपे ।
आमसभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जहिले पनि समस्या मात्रै सिर्जना गर्ने गरेको आरोप लगाए । एमालेप्रति निकै आक्रामक वरिष्ठ नेता पौडेलले एमाले लगायतका वामपन्थी पार्टीहरूले जहिले पनि राष्ट्रवादका नाममा जनतामा भ्रम फैलाउने गरेको आरोप लगाए ।
‘एमाले सहितका कम्युनिस्ट पार्टीहरूले जहिले पनि खोक्रो राष्ट्रवादको नारा उचाल्छन्, समस्या मात्रै थप्छन्’ उनले भने– समस्याको समाधान जहिले पनि हामी (काँग्रेस) ले नै गर्नु परेको छ ।
उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको चर्चा गरे । ‘यो (स्थानीय तह) निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्ने अभिभारा पनि नेपाली काँग्रेसले नै पुरा गर्छ’ उनले भने– यो निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्दै मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने कामको नेतृत्व पनि काँग्रेसले नै गर्ने छ । उनले तोकिएकै समयभित्र स्थानीय निर्वाचन हुनेमा ढुक्क रहन पनि आग्रह गरे ।
कार्यक्रमा महामन्त्री डाक्टर सशांक कोइरालाले स्थानीय तह निर्वाचन निकै महत्त्वपूर्ण रहेकोले नेपाली काँग्रेस एकतावद्ध हुन आह्वान गरे । उनले स्थानीय तह निर्वाचनमा काँग्रेसले विजय प्राप्त गरेमा मात्र मुलुकमा दिगो शान्ति, स्थिरता र दु्रत आर्थिक विकास हुने दाबी गरे ।
महामन्त्री कोइरालाले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दीलाई स्थान नभएको बताए । स्थानीय तह निर्वाचनमा क्षमता, योग्यता र योगदान हेरेर पार्टीले टिकट दिने बताए । ‘पार्टीले सबैको मूल्याङ्कन गरेर टिक दिने छ’ उनले भने– कोही बागी उठ्यो भने आजिवन पार्टीबाट निष्कासन गरिनु पर्दछ ।
सभामा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली जनताले काँग्रेसप्रति गरेको आशा र भरोसा खण्डित हुन नदिने बताए । ‘मधेसी जनतालाई पनि सँगै लिएर तोकिएको समयभित्रै निर्वाचन सम्पन्न गर्ने दायित्व पनि काँग्रेसको नै हो’ नेता सिटौलाले भने– हामी यो दायित्व पूर्ण रूपमा पुरा गर्ने छौ ।
नेता सिटौलाले काँग्रेस सत्ताका लागि मरिहत्ते गर्ने पार्टी नभएकोले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नका लागि नि:सर्त माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको बताए ।
सभामा प्रदेश नम्बर ७ का सबै नौ जिल्लाबाट उल्लेख्य सङ्ख्यामा कार्यकर्ता तथा समर्थक सभास्थलमा ओइरिएका थिए ।
आमसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँद, रेमश लेखक, बद्री पाण्डे, ईश्वरी न्यौपाने, रामकृष्ण यादव र वीरबहादुर बलायर, राज्यमन्त्री दिर्घराज भाट, सांसद प्यारेलाल राना र बुद्धिसागर चौधरी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष नैनसिंह महर लगायतका नेताहरूले धारणा व्यक्त गरेका थिए ।
आमसभा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहको अध्यक्षतामा भएको थियो । आमसभाको नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्ले सञ्चालन गरेका थिए भने कञ्चनपुरका सभापति हरि बोहराले स्वागत गरेका थिए ।
सभामा थारु तथा पहाडी समुदायका मौलिक सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । यसैबिच, विभिन्न पार्टी परित्याग गरी ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार