२३ बैशाख २०८१, आईतवार

दुई चरणमा पनि चुनाव गर्न सकिन्छ– काँग्रेस सभापति देउवा



धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने भए दुई चरणमा स्थानीय तहको चुनाव गर्न सकिने बताएका छन् ।
सभापति देउवाले मधेसी दलहरू पनि चुनावमा आउने सम्भावना बढेको बताए । ‘मधेसी मोर्चासंग कुराकानी भइरहेको छ’ शनिवार काठमाडौँबाट धनगढी आउने क्रममा गेटा विमानस्थलमा पत्रकारहरूसंग कुरा गर्दै सभापति देउवाले भने– ‘मधेसी दलहरू चुनावमा आएमा दुई चरणमा र नभए एकै चरणमा नै चुनाव हुने छ ।
उनले तर, तोकिएको मिति (वैशाख ३१ गते) को मिति परिवर्तन नहुने बताए । ‘सबै ढुक्क हुनुहोस्, घोषित मितिमै स्थानीय तह निर्वाचन हुने छ’ सभापति देउवाले सबैलाई सहमतिमा ल्याउन काँग्रेसले पहल गरिरहेको बताए ।
पत्रकारको एक जिज्ञासामा सभापति देउवाले हाल संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर पुन: पेस गरिने बताए । ‘संविधान संशोधन प्रस्तावमा प्रमुख प्रतिपक्ष एमाले लगायतका केही दलको असहमति रहेको छ’ उनले भने– त्यसैले पनि त्यसमा परिमार्जन गरेर पुन: पेस गरिने पहल भइरहेको बताए ।
पछिल्लो पटक सिर्जना भएको उपप्रधानमन्त्रीको बरियताक्रमसम्बन्धी अर्को एक प्रश्नमा उनले भने– ‘संसद्मा सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले अर्को दलको प्रधानमन्त्री स्वीकार गरिसकेको छ, त्यसैले प्रधानमन्त्रीपछिको दोस्रो वरियातक्रमको सवाल नै सामान्य हो, यो विवाद केही दिनमा आफै मिल्छ ।’
उनले नेपाली काँग्रेसले मधेस, पहाड, हिमाल सबैलाई मिलाएर लगेको बताए । कसैले पनि मधेस वा पहाड मात्रै भन्न नहुने बताउँदै उनले एमालेलाई कसैप्रति कुनै किसिमको द्वेष तथा घृणा नफैलाउन आग्रह गरे ।
आज काँग्रेसको प्रदेशस्तरीय आमसभा
नेपाली काँग्रेसको आयोजनामा देशव्यापी चुनावी अभियानका क्रममा आज (आइतबार) कैलालीको अत्तरियामा प्रदेश नम्बर ७ स्तरीय आमसभा हुँदैछ ।
आमसभालाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर सशांक कोइराला सहित शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहले आमसभाका लागि सबै तयारी पुरा भइसकेको बताए ।
आमसभामा प्रदेश नम्बर ७ का सबै नौ जिल्लाका नेता कार्यकर्ता सहभागी बन्ने उनले बताए । आमसभाको तयारीका लागि नेपाली काँग्रेस, कैलालीका सभापति शाहको संयोजकत्वमा एक हजार एक सदस्यीय तयारी मूल समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार