१० श्रावण २०८१, बिहीबार

संशोधित सार्वजनिक खरिद नियमावली खारेज गर– निर्माण व्यावसायी



धनगढी । सरकारले हालै पाँचौँ पटक संशोधन गरी जारी गरेको ‘सार्वजनिक खरिद नियमावली, २०६४’ निर्माण व्यावसायीहरूको हितविपरित भएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन् ।
उपभोक्ता समितिमार्फत निर्माण कार्य गराउने सार्वजनिक खरिद नियमावली पाँचौँ संशोधन निर्माण व्यावसायीमैत्री नभएको भन्दै निर्माण व्यावसायीहरूले यथाशिघ्र खारेज हुनुपर्ने माग दोहोर्‍याएका छन् ।
‘सरकारले २०६४ सालमा ल्याएको खरिद नियमावली चार पटक संशोधन गरिँदा पनि निर्माण व्यावसायीमैत्री भएन’ बिहीबार सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यावसायी सङ्घको १३ औँ साधारण सभाको उद्घाटन गर्दै निर्माण व्यावसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनले भने– ‘चौथो संशोधनलाई व्यावसायीमैत्री कसरी बनाउने ? भनेर महासङ्घले आन्तरिक छलफलमा गरिरहेकै समयमा सरकारले तीन महिना नबित्दै नियमावलीको पाँचौ संशोधन गरेर झन् गलत गरेको छ ।’
उनले देशभरिका निर्माण व्यावसायीहरूसंग कुनै सल्लाह नै नगरी सार्वजनिक खरिद नियमावली पाँचौ संशोधन ल्याइएकोले तत्काल सच्याउनुपर्ने बताए । ‘आगामी वैशाख ७ गतेभित्र सच्याइएन हामी कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं’ उनले चेतावनी दिए ।
उनले ‘मूलकमा पूर्वाधार निर्माण गर्ने जिम्मेवारी निर्माण व्यावसायीहरूले लिएको’ चर्चा गरे । उनले भने– ‘यसैले पनि निर्माण व्यावसायी राष्ट्र निर्माणका मेरुदण्ड हुन्, तर राज्यका नीति, ऐन, नियमावलीहरू व्यावसायीमैत्री नहुँदा राष्ट्र समृद्धितर्फ उन्मुख हुन सकेको छैन ।’
‘सरकारले द्रुत आर्थिक विकासको कुरा गर्छ, तर विकासका लागि योगदान पुर्‍याउने व्यावसायीहरूलाई प्रोत्साहन भन्दा पनि दण्डित हुने गरी ऐन ल्याएपछि कसरी राष्ट्र समृद्ध हुन्छ ?’ अध्यक्ष गौचनले निर्माण कार्यलाई स्वच्छ, सबल र गुणस्तरीय बनाउनका निम्ति सरकारले व्यावसायीमैत्री नीति बनाउन जरुरी रहेको बताए ।
कार्यक्रममा महासङ्घका सल्लाहकार तेजबहादुर चन्दले सार्वजनिक खरिद नियमावली पाँचौ संशोधनले निर्माण व्यावसायीहरूलाई स्थापित गर्नुभन्दा पनि विस्थापित पार्ने प्रयास भएको आरोप लगाए ।
कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुलाल श्रेष्ठले खरिद नियमावलीले सरकारलाई बलियो र व्यावसायीलाई कमजोर बनाएको बताए । ‘जबसम्म आम निर्माण व्यावसायीलाई बलियो बनाउने गरी नियमावली आउँदैन तबसम्म भौतिक पूर्वाधारका काम गुणस्तरीय हुनसक्दैनन्’ उनले दाबी गरे ।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष भीमबहादुर साउँदले निर्माण व्यावसायी पनि ईमान्दार, स्वच्छ र गुणस्तरीय काम गर्न तत्पर हुनुपर्ने बताए । ‘तपाईहरू लो विडिङ गरेर ठेक्कापट्टा नलिनुहोस्, यो प्रवृतिले निर्माण व्यावसायीप्रति आम जनताको दृष्टिकोण नकारात्मक बनेको छ’ उनले भने– ‘लो विडिङका कारण काम गुणस्तरीय नहुने र समयमै काम सम्पन्न गर्न चुनौती थपिएका छन् ।’
कार्यक्रममा महासङ्घका अर्का उपाध्यक्ष रुद्र शर्माले स्थानीय तह पुनर्संरचना अनुसार गाउँपालिका र नगरपालिकाले आफ्नो कानुन आफै बनाउने व्यवस्था भएकाले स्थानीय तहमा पनि निर्माण व्यावसायीमैत्री कानुन निर्माण गरिनु पर्ने बताए ।
कार्यक्रममा महासङ्घका महासचिव रामशरण देउजा, कोषाध्यक्ष रोशन दाहाल, सहकोषाध्यक्ष नरहरि कठरिया, केन्द्रीय सदस्य चक्रबहादुर शाही, अम्मर विष्ट, नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष जगत साउँद, हेभी ईक्युपमेण्ट सङ्घका महासचिव उमाकान्त शर्मा, निर्माण व्यवसायी सङ्घका कैलाली अध्यक्ष प्रकाश सेठ्ठी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सुदूरपश्चिमाञ्चल निर्माण व्यावसायी सङ्घका अध्यक्ष मदन कुँवरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्षेत्रीय सङ्घका वरिष्ठ उपाध्यक्ष रामबहादुर शाहले स्वागत गरेका थिए ।
क्षेत्रीय महासङ्घले १३ औँ साधारणसभाको अवसरमा ११ औँ दक्षिण एसियालीमा उसु प्रतियोगिताबाट काँस्य पदक विजेता एलिना खातीसंगै निर्माण व्यावसायमा योगदान पुर्‍याएवापत विभिन्न संघसंस्था, व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार