२३ बैशाख २०८१, आईतवार

नेपाली काँग्रेसले थाल्यो देशव्यापी आमसभा अभियान



धनगढी । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले देशव्यापी आमसभा अभियान थालेको छ ।
काँग्रेसले ७ नम्बर प्रदेशबाट आमसभा अभियान सुरु गरेको जनाएको छ । आमसभाको आरम्भ आगामी २७ गते आइतबार कैलालीको अत्तरियाबाट हुने बुधवार नेपाल प्रेस युनियन, कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी सावदले अत्तरियाबाट आरम्भ हुने आमसभा वैशाख २ गते झापामा पुगेर समापन हुने जानकारी दिए ।
अत्तरियामा आयोजना हुने आमसभालाई नेपाली काँग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर सशांक कोइरालाले सम्बोधन गर्ने जनाइएको छ । त्यसै गरी, आमसभामा काँग्रेसका अन्य वरिष्ठ नेताहरूको पनि सहभागिता रहने छ ।
आमसभाको तयारीका लागि नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ को संयोजकत्वमा एक हजार एक सदस्यीय आमसभा मूल आयोजक समिति गठन गरिएको छ ।
मूल आयोजक समितिमा प्रदेश नम्बर ७ का सबै नौ जिल्ला, क्षेत्रीय, नगर तथा गाउँपालिका समितिका पार्टी सभापति, पदाधिकारी र सदस्य, भातृ तथा शुभेच्छुक सङ्गठनका पदाधिकारी र सदस्यहरू रहेका छन् ।
केन्द्रीय सदस्य सावदले आमसभामा प्रदेश नम्बर ७ बाट एक लाख बढी मान्छे सहभागी गराउने गरी तयारी भइरहेको बताए ।
स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि काँग्रेसको कार्यक्रम र नीति बारे आमजनतालाई जानकारी गराउन आमसभा अभियान सञ्चालन गरिएको बताए ।
सञ्चारकर्मीको एक जिज्ञासामा केन्द्रीय सदस्य सावदले नेपाली काँग्रेसले पार्टीका स्थानीय इकाईहरूकै सिफारिसमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी चयन गर्ने दोहोर्‍याए ।
उनले २०४९ सालको स्थानीय चुनावमा झैँ यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले देशभरि अभूतपूर्व विजय प्राप्त गर्ने दाबी गरे ।
सञ्चारकर्मीको एकअर्को प्रश्नमा केन्द्रीय सदस्य सावदले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवार नभएको र स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा देशमा जातीय विद्वेष र हिंसा फैलाउने प्रयास गरिरहेको आरोप लगाए ।
‘आम नेपाली जनता ढुक्क हुनुहोस्, स्थानीय तह चुनाव जसरी पनि हुन्छ । यसमा शङ्का नगर्नुहोस्’ उनले भने– ‘जस्तोसुकै आँधीबेहरी आए पनि वैशाख ३१ गतेभन्दा पर चुनाव जाँदैन । उनले निर्वाचन हुन नसक्ने हल्ला फिँजाएर सर्वसाधारणलाई भ्रममा नपार्न एमाले लगायतका दलहरूलाई आग्रह गरे ।
कार्यक्रममा काँग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले स्थानीय तह चुनाव संविधान कार्यान्वयनको प्रारम्भ विन्दु रहेको बताइन् ।
पत्रकार सम्मेलनमा काँग्रेस कैलालीका सभापति शाह, जिल्ला पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
यसै बिच, प्रदेशस्तरीय आमसभालाई सफल बनाउन विभिन्न समिति गठन गरिएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।
काँग्रेस कैलालीका उपसभापति प्रकाश बमको संयोजकत्वमा १२ सदस्यीय मञ्च व्यवस्थापन तथा सांस्कृतिक समिति गठन गरिएको छ ।
त्यस्तै, पार्टी जिल्ला सचिव पूर्ण कुँवरको संयोजकत्वमा ७ सदस्यीय यातायात व्यवस्थापन समिति, अर्का जिल्ला सचिव दीपकराज जोशीको संयोजकत्वमा ११ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्यसै गरी, जिल्ला कोषाध्यक्ष सेवकराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय आर्थिक परिचालन समिति, तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमको संयोजकत्व तथा नेविसंघ कैलालीका अध्यक्ष भेषबहादुर बमको सहसंयोजकत्वमा पाँच सय एक सदस्यीय स्वयंसेवक तथा युवा परिचालन समिति र नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष मनमोहन स्वाँरको संयोजकत्वमा ५१ सदस्यीय सूचना तथा सञ्चार समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार