२ जेष्ठ २०८१, बुधबार

प्रदेश ७ मा १३ लाख मतदाता, यस पटक एक लाख ८० हजार थपिए



धनगढी । पछिल्लो निर्वाचन यता प्रदेश नम्बर ७ (सुदूरपश्चिम)मा झन्डै एक लाख ८० हजार मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रदेशमा स्थानीय तह चुनावका लागि एक लाख ७९ हजार दुई सय २५ मतदाता थप भएका छन् ।
यस प्रदेशमा २०७० सालको चुनावमा ११ लाख २४ हजार पाँच सय १३ थिए भने आसन्न स्थानीय तहको चुनावमा १३ लाख तीन हजार सात सय ६८ मतदाता पुगेका छन् ।
यस प्रदेशमा सबैभन्दा बढी कैलालीमा मतदाता थप भएका छन् । कैलालीमा झन्डै ६९ हजार छ सय १९ मतदाता थपिएका छन् । कैलालीमा २०७० सालको चुनावमा तीन लाख ३३ हजार छ सय ६१ मतदाता थिए भने २०७३ मा चार लाख तीन हजार दुई सय ८० मतदाता रहेका छन् ।
प्रदेशको ७ को बाजुरामा छ हजार एक सय ४०, अछाममा १४ हजार नौ सय १२, बझाङमा १२ हजार छ सय ९८, डोटीमा ११ हजार चार सय ७४, दार्चुलामा छ हजार आठ सय २४, बैतडीमा १० हजार आठ सय सात, डडेल्धुरामा नौ हजार नौ सय १२ र कञ्चनपुरमा ३६ हजार आठ सय १५ मतदाता थपिएका छन् ।
यस प्रदेशमा आयोगले यस पटक ८० वटा मतदान स्थल थप गरेको छ । यस पटक स्थानीय तह चुनावमा एक हजार एक सय सात मतदान केन्द्र हुनेछन् । जस अनुसार कैलालीमा दुई सय ३२, बैतडीमा एक सय २०, कञ्चनपुरमा एक सय ३२, बझाङमा एक सय २६, डोटीमा एक सय १५, अछाममा एक सय २९, दार्चुलामा एक सय १०, डडेल्धुरामा ७७ र बाजुरामा ६९ मतदान स्थल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार