५ जेष्ठ २०८१, शनिबार

६० औँ सहकारी दिवस : विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ आइतबार कैलालीमा विभिन्न कार्यक्रमसहित ६० औँ सहकारी दिवस मनाइएको छ ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र जिल्ला सहकारी सङ्घ, कैलालीको संयुक्त आयोजनामा सहकारी दिवसको अवसरमा विभिन्न कार्यक्रम भएका थिए ।
यस क्रममा धनगढीको क्याम्पसरोडदेखि जिल्ला सहकारी तथा डिभिजन कार्यालयको प्रांगणसम्म प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा सहकारी डिभिजन कार्यालयका कर्मचारी, सहकारी संस्थाका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।
र्‍यालीपछि आयोजित सभाको राष्ट्रिय सहकारी महासङ्घकी उपाध्यक्ष ओमदेवी मल्लले उद्घाटन गरेकी थिइन् । कार्यक्रम जिल्ला सहकारी सङ्घका जिल्ला अध्यक्ष विश्वप्रकाश पौडेलको अध्यक्षतामा भएको थियो ।
‘अब सहकारी संस्थाहरूले बचत र ऋणको काममा मात्रै सीमित हुनुहुँदैन’ उपाध्यक्ष मल्ले भनिन्– ‘अब सबै सहकारी संस्थाहरूले बढी व्यावसायिक पनि बन्नु पर्छ, सहकारी दिगो विकासको लक्ष्य पनि यही हो । उपाध्यक्ष मल्लले सहकारी संस्थाहरूमा आबद्ध महिला तथा पुरुषलाई आ–आफ्ना संस्थालाई व्यावसायिक बनाउन आह्वान गरिन् ।’
उनले विक्रम सम्बत २०१३ सालदेखि नेपालमा सहकारी अभियानको आरम्भ भए पनि प्रजातन्त्रको पुन:स्थापनापछि २०४८ सालदेखि सहकारीको विकास तीव्र भएको चर्चा गरिन् ।
उनका अनुसार हालको अवस्थामा नेपालमा सहकारी संस्थामा ५१ प्रतिशत महिला आबद्ध भएको र ४१ प्रतिशत महिला नेतृत्व तहमा रहेको जानकारी दिइन् । उपाध्यक्ष मल्लले अब बन्ने सहकारी ऐनलाई सहकारीमैत्री बनाउन पहल भइरहेको बताइन् ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ग्रामीण तथा दुर्गम क्षेत्रका बासिनदालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहकारी अभियानले उल्लेख्य भूमिका निर्वाह गरिरहेको चर्चा गरे ।
प्रमुख जिल्ला अधिकारी रिजालले सहकारीको मूल्य मान्यता भनेको सङ्गठित हुने, उद्देश्यको प्राप्ति गर्ने, गरिबी न्यूनिकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने र समाजमा आत्मप्रतिष्ठा कायम गर्नुका साथै राष्ट्रलाई समृद्धितर्फ डोर्‍याउनु रहेको बताए ।
कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य रेवतीरमण पोखरेलले देशभरि ३३ हजारभन्दा बढी सहकारी संस्था रहेको बताए ।
प्राचार्य पोखरेललका अनुसार कैलालीमा छ सय ४४ सहकारी संस्था रहेको जानकारी दिए । कैलालीमा ७६ हजार नौ सय १० महिला र ९३ हजार आठ सय १३ पुरुष गरी एक लाख ७० हजार सात सय २३ जना सहकारीमा आबद्ध भएका छन् ।
कैलालीमा कार्यरत सहकारी संस्थाहरूमा दुई हजार तीन सय ८४ महिला र तीन हजार पाँच सय नौ पुरुष गरी पाँच हजार आठ सय ९३ जना सञ्चालक रहेका छन् ।
प्राचार्य पोखरेलले कैलालीका ग्रामीण क्षेत्रमा सहकारी संस्थाहरूको पहुँच अझैं पनि कम भएकाले सहकारी संस्थाका सञ्चालकहरूलाई ध्यान दिन आग्रह गरे । उनका अनुसार कैलालीको प्रमुख सहर धनगढीमा ९८ वटा सहकारी संस्था रहेका छन् भने पहाडी गाउँपालिका मोहन्यालमा तीन वटामात्र सहकारी संस्था रहेका छन् ।
कार्यक्रममा सहकारी अभियन्ता नन्दलाल भट्ट, सहकारी प्रशिक्षक सुरेशराज जोशी, जिल्ला सहकारी बैङ्कका प्रबन्धक कृष्ण रावल, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष जगत साउँद, जिल्ला बचत सङ्घका राजेन्द्र खडका, हिमशिखर बचत तथा ऋण सहकारी संस्थाका सचिव दीपक जोशी, नवजीवन कोअपरेटिभ्स लिमिटेडका अध्यक्ष रतन कठायत, सुदूरपश्चिम महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शान्ति सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारी अभियानमा उल्लेख्य योगदान पुर्‍याएवापत विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।
सो अवसरमा जिल्लामा उत्कृष्ट सहकारी संस्थातर्फ कैलारी गाउँपालिकाको परिश्रम सहकारी संस्था लिमिटेड र गोदावरी नगरपालिकाको प्रगति महिला बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरियो ।
त्यस्तै, सहकारी अभियन्तातर्फ नन्दलाल भट्ट, खडानन्द सापकोटा र वीरेन्द्रकुमार मल्लिक, उत्कृष्ट सञ्चालकतर्फ रणबहादुर भण्डारी, हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका दुर्गाप्रसाद भण्डारी, सहकारी प्रशिक्षण तथा डिभिजनका सहायक प्रशिक्षक रामबहादुर महरा र व्यवस्थापकतर्फ दीपक वैद्य र कौशिला साउँदलाई पुरस्कृत गरियो ।
त्यस्तै, दिवसकै अवसरमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा २० जना महिला तथा पुरुषले रक्तदान गरेका थिए ।
त्यस्तै, एसियन लाइफ इन्सोरेन्स कम्पनीले पनि दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको थियो । सो अवसरमा २७ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै, सहकारी दिवसका अवसरमा सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कैलालीको टीकापुरका १० विद्यालयका पाँच/पाँच जना विद्यार्थीलाई स्कुल पोशोक वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार