१ जेष्ठ २०८१, मंगलवार

डोटीको पिपल्ला बजारमा लागेको आगो नियन्त्रणमा



डोटी । दिपायलको पिपल्ला बजारमा जीवी पेट्रोल पम्पबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलको पानी बोक्ने ट्यांकर, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा करिब २ घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।
धनगढीबाट पेट्रोल लिएर आएको ना २ ख ४५७९ नम्बरको ट्यांकरबाट पिपल्लाबजार स्थित प्रकाश कपड्यालले सञ्चालन गरेको जेवी पेट्रोल पम्पमा पेट्रोल अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको थियो ।
ट्यांकरबाट सल्किएको आगोले पेट्रोल पम्प, ट्यांकर, मोहित होटेल र कल्पना सुनचाँदी पसल पुर्णरुपमा नष्ट भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका एसपी मोहनराज जोशीले जानकारी दिए । कल्पना सुनचाँदी पसल काँग्रेस सांसद कल्पना शोभको हो ।
दिपायल सिलगडी नगरपालिकाको दमकल विग्रेर थन्किएकाले आगो नियन्त्रणमा आउन समय लागेको स्थानीय भरत बोहोराले जानकारी दिए । आगो नियन्त्रणका लागि डँडेल्धुराबाट हिँडेको दमकल घटनास्थल पुग्नु अगावै आगो नियन्त्रण आएको छ ।
आगलागीबाट पेट्रोल पम्प नजिकै रहेको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय र केही घरमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार