१ जेष्ठ २०८१, मंगलवार

आसन्न स्थानीय तह निर्वाचन : तीन प्रमुख दलसँग तालमेल गर्छौ– राजमो



धनगढी । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रसंग तालमेल गर्ने नीति अघि सारेको छ । तर, सो पार्टीले राजावादी, मधेसवादी, जातिवादी र डाक्टर बाबुराम नेतृत्वको पार्टीसँग भने निर्वाचनमा कुनै पनि किसिमको तालमेल नगर्ने जनाएको छ ।
राष्ट्रिय जनमोर्चा, सेती–महाकाली क्षेत्रीय कार्यालयले शनिवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनमा सहयोग र सहभागिताका लागि गरिएका निर्णयहरू सार्वजनिक गरियो । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन ऐतिहासिक र अनिवार्य भएकाले यसलाई सफल पार्नु सबैको जिम्मेवारी भएको बताएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचन महत्त्वपूर्ण भएको बताए । ‘तीन तहका निर्वाचनका लागि एक सय ३३ कानुन आवश्यक पर्छन्, तर बनेका छैनन् तै पनि निर्वाचन जसरी पनि सफल पार्नु पर्छ’ उनले भने– ‘यो निर्वाचनको ऐतिहासिक महत्त्व छ ।’
उनले वैशाख ३१ गते स्थानीय तह निर्वाचन नभए आगामी माघ पहिलो सातासम्म तीन तहका निर्वाचन सम्भव नहुने बताए । उनले भने– ‘त्यस्तो अवस्थामा आएमा संवैधानिक रिक्तता सिर्जना भएर नयाँ खिलराज जन्मिन सक्नेछन् ।
सो अवसरमा राष्ट्रिय जनमोर्चाका सेती–महाकाली अध्यक्ष नन्दराज भट्टले स्थानीय तह निर्वाचन सफल पार्न जनमोर्चाले चैत १९ गतेदेखि वैशाख १३ गतेसम्म सुदूरपश्चिमका कैलाली, कञ्चनपुर डोटी र डडेल्धुराका विभिन्न ठाउँमा जागरण अभियान तथा सभाहरू आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार