२ जेष्ठ २०८१, बुधबार

आसन्न स्थानीय तह निर्वाचन : म्यादी प्रहरीका लागि तेब्बर बढी आवेदन



धनगढी । आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ७ (सुदूरपश्चिम) मा म्यादी प्रहरीका लागि आवश्यकताभन्दा तेब्बर बढी आवेदन परेको छ । कैलालीमा छ हजार जना बढीको आवेदन परेको छ । प्रदेश नम्बर सातमा म्यादी प्रहरीका लागि आवेदन दिने महिलाको सङ्ख्या दुई हजार बढी रहेको छ । कैलाली मात्रै करिब नौ सय जना महिलाले आवेदन दिएका छन् ।
म्यादी प्रहरीका लागि आवेदन दिने अन्तिम समय बिहीबारसम्म रहेको थियो । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, दिपायलका अनुसार सात नम्बर प्रदेशका नौ जिल्लामा १८ हजार नौ सय ९६ जनाको म्यादी प्रहरीका लागि आवेदन परेको छ । यस प्रदेशमा छ हजार नौ सय १२ जना म्यादी प्रहरी आवश्यक रहेको सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी रोमेन्द्रसिंह देउजाले जानकारी दिए ।
म्यादी प्रहरीका लागि आवश्यकभन्दा तेब्बर बढीको आवेदन परेको छ । नौवटै जिल्लामा प्राप्त आवेदन माथि शनिवारदेखि शारीरिक तथा स्वास्थ्य परीक्षण, लिखित र मौखिक परीक्षा लिएर आगामी मङ्गलवार (२२ गते) छनौटमा परेकाहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । डिआईजी देउजाले भने– ‘छनोटमा परेकाहरूका लागि २८ गतेदेखि आवश्यक तालिम सञ्चालन गरिने छ ।
छनौटमा परेका म्यादी प्रहरीले मतदान स्थलमा नेपाल प्रहरीसंगै खटिएर प्रहरीको मातहातमा रहेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने प्रावधान रहेको छ ।
डिआइजी देउजाका अनुसार प्राप्त आवेदनमध्ये दुई हजार ४१ महिला र १६ हजार नौ सय ५५ पुरुष गरी १८ हजार नौ सय ९६ जना रहेका छन् ।
प्रदेश नम्बर सातमा कैलालीमा सबैभन्दा बढी जनाको आवेदन परेको छ । क्षेत्रीय प्रहरी कार्यालय, दिपायलका अनुसार कैलालीमा आठ सय ७० महिला सहित छ हजार २० जनाले आवेदन दिएका छन् ।
त्यस्तै, कञ्चनपुरमा तीन सय ५४ महिला र तीन हजार एक सय ४१ पुरुषले आवेदन दिएका छन् । बैतडीमा ५० जना महिलासहित एक हजार तीन सय ७३ को आवेदन प्राप्त भएको छ भने डडेल्धुरामा एक सय ४१ महिला र एक हजार एक सय ८५ पुरुषको आवेदन परेको डिआइजी देउजाले बताए ।
त्यस्तै, डोटीमा एक सय ४४ महिला र एक हजार ४१ पुरुष गरी एक हजार एक सय ८५, अछाममा एक सय ६६ महिला र एक हजार चार सय ९८ पुरुषसमेत एक हजार छ सय ६४, बझाङमा एक सय पाँच महिला र एक हजार एक सय ४० सहित एक हजार दुई सय ४५, बाजुरामा एक सय १४ महिला र एक हजार एक सय २६ पुरुष गरी एक हजार दुई सय ४० र दार्चुलामा ९७ महिला तथा एक हजार तीन सय ५१ पुरुष गरी एक हजार चार सय ४८ जनाको आवेदन परेको छ ।
क्षेत्रीय प्रहरी कार्यालय, दिपायलका अनुसार कैलालीमा एक हजार पाँच सय ३७ जना म्यादी प्रहरी छनोट गरिने छ । त्यस्तै, कञ्चनपुरमा एक हजार ५५, बैतडीमा सात सय १७ र डडेल्धुरामा चार सय १३ जनाको पदपूर्ति गरिने छ ।
डोटीमा छ सय आठ, अछाममा नौ सय ४०, बझाङमा पाँच सय ७७, बाजुरामा पाँच सय ३५ र दार्चुलामा पाँच सय ३० म्यादी प्रहरी छनोट गरिने डिआइजी देउजाले बताए ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार