२ जेष्ठ २०८१, बुधबार

कैलालीमा कम्तीमा दुई सय ५२ महिला निर्वाचित हुने



धनगढी । स्थानीय तहको चुनाव नजिकिदै छ । यस निर्वाचनबाट बन्ने गाउँपालिका, नगरपालिकामा महिलाको उपस्थिति कति होला भन्ने जिज्ञासा पनि छ ?
नेपालको संविधान २०७२ अनुसार नेपालका सबै गाउँपालिका र नगरपालिकामा वडामा २/२ जना महिला निर्वाचित हुँदै छन् । हरेक गाउँपालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार बनाउनु पर्ने व्यवस्था अनुसार केही सङ्ख्यामा महिला प्रमुख वा उपप्रमुख छानिने सम्भावना छ भने वडा अध्यक्षमा पनि महिला निर्वाचित हुने सम्भावना छ । एक वडामा एक दलित महिला सहित दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था अनुसार सरकारले २०७४ माघ ३१ मा घोषणा गरेको निर्वाचन भएमा कैलालीमा कम्तीमा पनि दुई सय ५२ जना महिला निर्वाचित हुने छन् ।
कैलाली जिल्लामा एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका गरी एक सय २६ वडा रहेका छन् । हरेक वडाबाट दुई जनाका दरले दुई सय ५२ महिला अनिवार्य निर्वाचित हुने छन् ।
१३ वटा तहमा १३ वटा प्रमुख र उप–प्रमुखमध्ये कुनै एकमा महिला लड्नु पर्ने बाध्यकारी नियम छ । तर प्रमुख र उप–प्रमुखमा महिला र पुरुष उम्मेदवारसंगै चुनाव लडे १३ जनानै महिला नआउन सक्ने पनि सम्भावना रहेको छ । यदि १३ वटै तहमा १३ वटा महिला आउने हो भने यो सङ्ख्या बढेर जिल्लामा छ सय ५६ सिटमध्ये दुई सय ६५ महिला निर्वाचित हुने क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए । यसका साथै दलित र अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गर्ने दुई जना र नगरसभाले निर्वाचित गर्ने तीन जनामा पनि महिला पर्न सक्छन् ।

 

कसरी गर्ने भोट ?
तपाईँले स्थानीय तहको चुनावमा सात जना उम्मेदवारका लागि भोट हाल्नुपर्छ । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र चारजना सदस्यहरू गरी ७ जनालाई भोट दिनुपर्ने हुन्छ ।
स्थानीय तहको निर्वाचनमा २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा जस्तो दुईवटा फरक मतपत्रमा मत दिनु पर्दैन । अब एउटा मात्रै मतपत्रबाट आफ्ना उम्मेदवार चयन गर्न सकिनेछ ।
मतदाताले सेतो कागजमा रातो अक्षर प्रिन्ट गरेको मतपत्र पाउने छन् । त्यसमा २७ वटा दलको पार्टीको चुनाव चिन्ह हुनेछ । सबैभन्दा माथि नेपाली काँग्रेसको, दोस्रोमा एमाले र, तेस्रोमा माओवादी केन्द्रको चुनाव चिन्ह हुन्छ ।
२७ नम्बरपछि स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह राखिएको हुन्छ । दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारमध्ये अब तपाईँले कसलाई मत दिन चाहेको हो, त्यसलाई मत दिन सक्नुहुन्छ । नगरपालिका वा उपमहानगरपालिकामा पनि त्यसै गरी सात जनालाई नै भोट हाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार