१० श्रावण २०८१, बिहीबार

हतियार बुझाउन प्रशासनले गरेको सूचनाको अझैं पालना भएन



धनगढी । आसन्न स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी कैलाली जिल्ला प्रशासन कार्यालयले व्यक्तिगत रूपमा राखिएका हतियार बुझाउन सार्वजनिक सूचना जारी गरे पनि अझसम्म एक जनाले मात्रै बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयले झण्डै दुई साताअघि सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत रूपमा राखिएका हतियार बुझाउन भनेको थियो ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार जिल्लामा चार सय ८९ जना व्यक्तिसँग व्यक्तिगत हातहतियार रहेका छन् । जिल्ला प्रशासन कार्यालयले बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै गत ४ गते सर्वसाधारणहरूलाई आफूसंग रहेका हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।
एक नाले बन्दुक, सर्टगन, सामान्य घरायसी बन्दुक, पेस्तोल लगायतका हातहतियार गरी कैलालीमा चार सय ८९ व्यक्तिले जिल्ला प्रशासन कार्यालयबाट कानुन बमोजिम अनुमति लिएर हातहतियार राखेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । प्रजिअ रिजालले ती हातहतियार बुझाउन आग्रह गरेको दुई साता हुन लाग्दा पनि हालसम्म एक जनाले मात्र एक थान हतियार बुझाएको बताए ।
जिल्ला प्रशासन कार्यालयको आग्रहपछि हतियार बुझाउनेमा धनगढी उपमहानगरपालिका–१३, घुँइयाघाटका प्रदीप जोशी रहेका छन् । उने आफूसंग रहेको बाह्रबोर (एक नाले) बन्दुक प्रशासन कार्यालयमा बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार निर्वाचनमा शान्ति सुरक्षालाई दृष्टिगत गरी व्यक्तिगत प्रयोजनका लागि राखेका हातहतियार बुझाउन गरिएकोमा जोशी बाहेक अरु कसैले पनि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा वडा प्रहरी कार्यालयहरूमा मंगलबारसम्म हातहतियार नबुझाएको बताए ।
‘कानून बमोजिम अनुमति लिएर राखेका हातहतियारहरू आगामी बैशाख १५ गतेसम्म नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ’ जिल्ला प्रहरी प्रवक्ता बुढामगरले भने– ‘यदि सो समयभित्र नबुझाइएमा हतियार राखेकाको तथ्यांक लिएर घरभित्र खानतलासी गरी कानुन बमोजिम कारबाही गरिने छ ।’
जिल्ला प्रशासन कार्यालयले गत ४ गते जारी गरेको सूचनामा ‘सुरक्षाकर्मी, कानुन बमोजिम लिन पाउने हातहतियार बाहेक अरु कोही कसैले कुनै पनि प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, हसियाँ, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पूर्णतया निषेध गरिएको’ उल्लेख छ । त्यस्तै, निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण कार्यमा पनि पूर्ण बन्देज लगाइएको उल्लेख छ ।
कैलाली प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि सुरक्षा व्यवस्थालाई कडाई गर्दै लैजाने बताए । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि चुनावी सरगर्मी बढ्ने, राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारमा तीब्रता दिने र त्यस समयमा विभिन्न खालका घटना हुनसक्ने सम्भावना भएकाले सो अवधिमा मदिराजन्य पदार्थको उत्पादन, विक्री वितरणमा पनि रोक लगाउनका साथै अन्य सम्भावित घटनालाई रोक्न कडाई गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार