१० श्रावण २०८१, बिहीबार

आसन्न स्थानीय तह निर्वाचन : जिल्लामा सुरक्षा योजना बनाइँदै



धनगढी । स्थानीय तह चुनाव शान्तिपूर्ण तथा भयरहित रूपमा सम्पन्न गर्न कैलालीमा सुरक्षा योजना बनाउने कार्यलाई तीव्रता दिइएको छ ।
स्थानीय तह चुनावको मिति नजिँकिदै जाँदा जिल्ला सुरक्षा समन्वय समितिले चुनावको समयमा हुन सक्ने सम्भावित अप्रिय घटनालाई न्यूनिकरण गर्न सुरक्षा योजना बनाइरहेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समन्वय समितिका संयोजक गोविन्दप्रसाद रिजालले चुनावलाई दृष्टिगत गरेर प्रभावकारी सुरक्षा योजना बनाइने बताए ।
सोमबार अनुमोदन दैनिकसंगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी रिजालले स्थानीय तह निर्वाचनको प्रयोजनका लागि म्यादी प्रहरी भर्नाका लागि आह्वान गरिसकेको र १७ गतेसम्म परेको आवेदनअनुसार छनोट गरिने बताए ।
‘अहिले निर्वाचन आयोगले जिल्लाको निर्वाचन केन्द्रको टुंगो लगाइसकेको छैन’ उनले भने– ‘निर्वाचन केन्द्रको टुंगो अनुसारनै यस जिल्लाको एकीकृत सुरक्षा योजना तयार पारिनेछ । उनले सुरक्षा योजना अनुसारनै यस क्षेत्रमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी स्थान विशेषको संवेदनशीलता वर्गीकरण गरिएको बताए ।
क्षेत्रीय निर्वाचन कार्यालयले यस कैलाली जिल्लामा २५ वटा थप मतदानस्थलको माग गरेपछि यस क्षेत्रमा कति मतदान केन्द्र बन्ने टुंगो लागिनसकेका कारण कुन क्षेत्रमा कति प्रहरी र म्यादी प्रहरी आवश्यक हुन्छ भन्ने टुंगो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
प्रहरी नायव उपरीक्षक बुढामगरले २०७२ सालको संविधानसभा निर्वाचनभन्दा थप जनशक्ति स्थानीय तहको चुनावमा आवश्यक पर्ने बताए । ‘पछिल्लो संविधान सभा निर्वाचनमा जति प्रहरी जनशक्ति आवश्यक थिए, त्यति नै अहिले पनि आवश्यक हुनसक्छन्, तर म्यादी प्रहरी भने थप गर्नुपर्ने देखिन्छ’ उनले भने ।
गृह मन्त्रालयले ७५ हजार म्यादी प्रहरीसहित दुई लाखभन्दा बढी सुरक्षाकर्मी स्थानीय चुनावमा खटाउने तयारी गरेको छ । प्रहरी नायव उपरीक्षक बुढामगरले अहिले जिल्ला प्रहरी कार्यालयले २४ सैं घण्टा म्यादी प्रहरीका लागि आवेदन लिइरहेको बताए । निर्वाचनका लागि आवश्यक विश्वसनीय सुरक्षा योजना कसरी बनाउने, स्रोत र जनशक्तिको हिसाब र त्यसको व्यवस्थापन कसरी गर्ने ? भन्नेबारे समन्वय समितिसंग पटक–पटक छलफल गरिरहेको उनले बताए ।
२०७० सालको संविधान सभा निर्वाचनमा कैलाली जिल्लामा दुई सय १७ मतदानस्थल रहेका थिए । सो निर्वाचनमा जिल्ला सुरक्षा समन्वय समितिले सामान्य मतदान केन्द्रमा चार प्रहरी र पाँच जना म्यादी प्रहरीलाई खटाएको थियो । त्यस्तै, संवेदनशील मानिएका मतदान केन्द्रमा सात प्रहरी र आठ म्यादी गरी १५ जना सुरक्षाकर्मी खटाइएको थियो ।
प्रहरी नायव उपरीक्षक बुढामगरका अनुसार आसन्न स्थानीय तह निर्वाचनमा सामान्य, संवेदनशील र अतिसंंवेदनशील मतदान केन्द्रमा कति म्यादी प्रहरी र प्रहरी सुरक्षाकर्मी खटाउने भन्ने सुरक्षा योजना बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार