१० श्रावण २०८१, बिहीबार

आन्दोलनकारीसँग सहमति गरेर मात्र चुनाव– डा. बाबुराम



धनगढी । नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले आन्दोलनकारीसँग सहमति गरेर मात्र स्थानीय चुनाव गर्नुपर्ने बताएका छन् ।
आइतबार धनगढीमा नयाँशक्ति पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले संविधान संशोधन गरेर चुनाव गर्नुपर्ने दोहोर्‍याए ।
उनले वर्तमान सरकारको संविधान संशोधन गर्ने इच्छाशक्ति नै नभएको आरोप लगाए । ‘सरकारमा इच्छाशक्ति भएमा एक हप्तामै संविधान संशोधन हुनसक्छ’ उनले सरकारको संविधान संशोधन गर्ने छाँटकाँट नदेखिएकाले समस्या झन् बल्झिदै गएको दाबी गरे ।
उनले ‘पहिला असन्तुष्ट दल र समुदायको माग संविधान संशोधन गरेर सम्बोधन गरेर नै तीन वटै तहको चुनाव गर्नु उपयुक्त हुने’ बताए । उनले भने– ‘यही अवस्थामा कुनै समुदायलाई बाहिर राखेर गरिएको चुनावको कुनै अर्थ हुने छैन ।’
उनले राष्ट्रिय एकतालाई मजबुत बनाउन संविधान संशोधन गर्नुको विकल्प पनि नभएको बताए । ‘यदि संविधान संशोधन नगरी चुनाव गरियो भने मुलुकमा फेरि ठुलो द्वन्द्व हुने छ’ उनले भने– ‘नयाँशक्ति पार्टी चुनावको पक्षमा रहेको छ, तर तीनवटै चुनाव सफल बनाउन संविधान संशोधन पहिलो आवश्यकता हो ।’
एक अर्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईले कञ्चनपुरको आन्नदबजारमा सत्तापक्षको नालाकीयपनले गर्दा भारतीय सुरक्षा फौजको गोली प्रहारबाट गोविन्द गौतमले सहादता प्राप्त गर्नुपरेको आरोप लगाए ।
उनले शहीद गौतमको भारतीय सुरक्षा फौजको गोली प्रहारबाट मृत्यु भएकोले भारत सरकारले माफी माग्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनअनुसार भारतीय सरकारले शहीद गौतमका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।
‘सीमा व्यवस्थापनको कुरा धेरै ठाउँमा हल भएको छ । अब सुस्ता र कालापानी लगायतका ठाउँमा मात्रै हल गर्न बाँकी रहेकोले यसको यथाशिघ्र व्यवस्थापन गर्न सरकार गम्भीर हुनुपर्छ’ उनले भने– ‘सत्तालिप्साका कारण दिनप्रतिदिन राष्ट्रियता कमजोर बन्दै गएको छ । सरकारले राष्ट्रियताको बारेमा तत्काल कठोर निर्णय लिन नसके समस्याहरू आइरहने छन् ।’

 

नयाँशक्तिको राष्ट्रिय अभियान धनगढीमा

नयाँशक्ति नेपाल पार्टीको ‘हिमाल, पहाड, तराई/मधेस राष्ट्रिय अभियान’ आइतबार धनगढी पुगेर समापन भएको छ । ‘स्थिर र समृद्धिको आधार, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय सरकार’ नाराका साथ चैत ९ गतेदेखि तनहुँबाट सुरु गरिएको अभियान धनगढी पुगेर समापन भएको घोषणा गरियो ।
सो अवसरमा धनगढीमा आयोजित सभामा नयाँशक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय एकताले नै राष्ट्रलाई समृद्धितर्फ डोर्‍याउने सन्देश दिन अभियान सञ्चालन गरिएको चर्चा गरे ।
उनले ‘नेपालको संविधान जारी भएको डेढ वर्षबढि भईसक्दा पनि जनताले आभास गर्ने गरी संविधान कार्यान्वयन नभएको’ बताउँदै स्थिर र स्थायी सरकार नभएसम्म आर्थिक समृद्धि पनि सम्भव नभएको दोहोर्‍याए ।
उनले एकल जातीवादको नारा लगाएर राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि प्रहार भइरहेको चर्चा गर्दै ‘सबैमा मधेसी, खस, आर्य, थारू होईनौ, हामी सबै नेपाली हौँ, हामी सबै एक भएर राष्ट्रिय एकता कायम राख्नुपर्छ भन्ने भावना हुनुपर्ने’ बताए । उनले नेपालभित्र जातियताको वीऊ रोपेर राष्ट्रलाई विखण्डनतिर लग्ने प्रयास भईरहेकोप्रति पनि सबै सचेत र सजग हुन आग्रह गरे ।
‘अहिले मधेसी, थारू, उत्पीडित वर्गहरूले संविधानमा आफ्नो अधिकार सुनिश्चित भएन भनेर आन्दोलनमा छन्’ उनले भने– ‘सरकारले एक पाइला पछि सरेर भए पनि यी सबैका मागको सम्बोधन गर्नै पर्दछ ।’
कार्यक्रममा सांसद गङ्गा चौधरीले ‘थारूहरूले अधिकार माग्दा केही दलले बिखण्डनकारीको रोप लगाउने गरेकोप्रति भत्र्सना गरिन् ।
नयाँशक्ति नेपालका प्रदेश नम्बर ७ का उत्प्रेरक भीम कडायतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य हिसिला यमी, चलचित्र कलाकार करिश्मा मानन्धर, नवराज सुवेदी, महेन्द्र पासवाङ्ग, जनक शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नयाँशक्ति नेपाल पार्टी, कैलाली संयोजक कृष्णकुमार चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश नम्बर ७ का संयोजक लीला भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार