११ श्रावण २०८१, शुक्रबार

शहीद गौतमको घरमा गृहमन्त्रीसहितका सरकारी अधिकारी



धनगढी ।  सीमाको रक्षाका क्रममा शहादत प्राप्त गरेका कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारका गोविन्द गौतमको परिवारमाझ घटनाको १४ दिनपछि सरकारका मन्त्रीसहित उपस्थित भएका छन् ।
नेपाली भूमिमा निर्माणाधीन कल्भर्ट बनाउन अवरोध गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट शहादत प्राप्त गरेका गौतमको परिवारलाई शनिवार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, कृषिमन्त्री गौरीशंकर थारू, सांसद बहादुरसिंह थापा तथा उच्च सरकारी अधिकारी, सुरक्षा निकायका उच्चाधिकारीले घरमै गएर भेटेका थिए ।
शनिवार नै गृह मन्त्रालयले आनन्दबजारमा एक कार्यक्रम आयोजना गरेर शहीद गौतमप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
सो अवसरमा गृहमन्त्री निधीले सरकारले घोषणा गरेको १० लाख रुपैयाँ राहत रकमको चेक शहीद गौतमका परिवारलाई हस्तान्तरण गरे । गृहमन्त्री निधीले सो चेक शहीद पत्नी लक्ष्मी गौतमलाई प्रदान गरे ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री निधीले शहीद गौतमका बुबा खेमलाल, गौतमकी श्रीमती लक्ष्मी, गौतमकी आमा र छोराछोरीलाई सम्मान गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री निधीले शहीद गौतमका परिवारलाई सहयोग स्वरूप नेपाली काँग्रेसको तर्फबाट सात लाख रुपैयाँको चेक समेत प्रदान गरे ।
त्यस्तै, सो अवसरमा नेपाल विद्यार्थी सङ्घ कैलाली क्षेत्र नम्बर ६ का तर्फबाट सङ्कलन गरिएको चार लाख रुपैयाँको चेक पनि प्रदान गरियो ।
सो अवसरमा उप्रधान तथा गृहमन्त्री निधीले सरकारले गौतमलाई शहीद घोषणा गर्नुका साथै उनका सन्तानलाई उच्च तहसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने र शहीदपत्नी लक्ष्मीलाई सरकारी सेवा प्रदान गरिने बताए । उनले शहीदपत्नी लक्ष्मीलाई सरकारी सेवाका लागि सरकारले स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकेको बताए ।
यस्तै, कार्यक्रमपश्चात सोही घटनामा गम्भीर घाइते टिकाराम चापागाईंलाई थप उपचारका लागि गृहमन्त्री निधीले काठमाडौँ लिएर गएका छन् ।
उपचारका लागि पैसा नपाएर कोहलपुर अस्पतालबाट फर्किन बाध्य घाइते चापागाईको उपचारको जिम्मा सरकारले लिएको घोषणा गर्दै गृहमन्त्री निधीले शनिबारनै उनलाई काठमाडौँ लगेका छन् ।
उनको उपचारका लागि नेपाली काँग्रेसले एक लाख र नेविसंघ कैलाली क्षेत्र नम्बर ६ ले एक लाख ३० हजार एक सय एक रुपैयाँ उपलब्ध गराएको छ ।
भारतीय सुरक्षाकर्मीबाटै गोली चलेको पुष्टि : गृहमन्त्री निधी
गृहमन्त्रीले भने– घटनाबारे भारतले माफी माग्नु पर्छ
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नै गोविन्द गौतमको ज्यान गएको पुष्टि भइसकेको बताए ।
गृहमन्त्री निधीले नेपाल सरकारले कुनै पनि प्रकारका सीमा अतिक्रमण र सीमा हस्तक्षेपलाई स्वीकार नगर्ने दृढता पनि दोहोर्‍याए ।
‘राष्ट्रियता, सार्वभौमिकता, सीमा सुरक्षा र राष्ट्रिय अखण्डतामा कोही कसैसँग कुनै पनि प्रकारको सम्झौता गरिदैन’ शनिवार कञ्चनपुरको आनन्दबजारमा निर्माण भइरहेको कल्र्भटको अवलोकनपछि उनले भने ‘देशको आन्तरिक मामिलाका विवादमा हामी राजनीतिक पार्टीहरू अलगअलग हुन सकौला, तर राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकतामा हामी सबै एक छौँ ।
उनले आनन्दबजार घटनाले त्यो कुराको पुष्टि गरेको स्मरण गर्दै ‘अहिले देशभित्रका कुनै पनि राजनीतिक दलले आनन्दबजार घटनामा भारतीय पक्षबाट गोली चलेको होइन भनेर भनेका छैनन् ।
उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट नै गौतमको मृत्यु भएको पोस्टमार्टम र फोरेन्सिक रिपोर्टले पुष्टि गरेको बताए । उनले भारत सरकारले यो घटनामा माफी माग्नुपर्ने र घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताए ।
उनले नेपाल र भारतबीच खुला सिमाना भएका कारण पनि सीमा विवाद बढ्दै गएको बताए । ‘पहिले नदीलाई आधार मानेर दुई देशको सीमा छुटिएको हुन्थ्यो, तर नदीले बेलाबेलामा किनारा फेर्ने गरेको छ’ उनले भने– ‘अब नदीलाई सीमा नमानेर विज्ञहरूबाट सर्भे गराई निश्चित सीमा निर्धारण गर्नुपर्छ ।’ उनले यसका लागि नेपाल सरकारको पहलमा नेपाल भारतको दुवै टोलीलाई बोलाएर संयुक्त सर्भे गराउनमा भारतले सहमति जनाईसकेको बताए ।
दोषीमाथि कारबाही होस्– स्थानीय
कञ्चनपुरको आनन्दबजारमा शहीद गोविन्द गौतमका परिवारलाई शनिवार भेट्न पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीलाई स्थानीयले गोविन्द गौतममाथि गोली प्रहार गर्ने दोषीमाथि कारबाहीको माग गरे ।
‘पटक–पटक भारतीय एसएसवीहरूले यस क्षेत्रमा ज्यादती गरिरहेका छन्’ गृहमन्त्री निधीलाई ज्ञापनपत्र बुझाउँदै कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष राजकुमार रायमाझीले भने– ‘सीमा रक्षामा उत्रिएका नेपालीमाथि गोली हान्नेहरूलाई कारबाही होस् ।’
स्थानीयले गृहमन्त्रीलाई सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल विस्तार गर्न पनि माग गरे ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार