१० श्रावण २०८१, बिहीबार

जापनिज इन्सेफ्लाइटिसको खोप अभियान



धनगढी  ।  जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले चैत १४ गतेदेखि जिल्लामा दुई चरणमा जापनिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।
एक वर्षदेखि १४ वर्षसम्मका बालबालिकाका लागि दुई चरणमा खोप सञ्चालन गर्न लागेको बिहीबार पत्रकारसंग अन्तक्र्रिया कार्यक्रममा कार्यालयले जानकारी दिएको हो । कार्यालयले पहिलो चरण अन्तर्गत चैत १४ गतेदेखि २३ गतेसम्म र दोस्रो चरण चैत २३ देखि ३१ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको खोप सुपरभाईजर प्रदीप जोशीले जानकारी दिए । पहिलो चरणमा कैलालीका टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा, लम्कीचुहा नगरपालिका र बर्दगोरीया, जानकीनगर, कैलारी, जोशीपुर गाउँपालिकामा लगाईने छ भने दोस्रो चरणमा धनगढी उप–महानगरपालिका, गोदावरी, चुरे र मोहन्याल गाउँपालिकामा खोप लगाईने खोप सुपरभाईजर जोशीले बताए । कार्यालयले दुई लाख ३० हजार पाँच सय ५१ बालबालिकालाई जापनिज इन्सेफलाइटिस विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । कैलाली जापनिज इन्सेफलाइटिसमा सबैभन्दा उच्च जोखिममा रहेको जिल्ला हो । अभियान देशमै कैलालीमा मात्र सञ्चालन जिल्ला हो ।
जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियानको लागि एक हजार दुई सय ५८ जना महिला स्वास्थ्य स्वयम्सेविका र एक हजार नौ सय ६० स्वास्थ्यकर्मी परिचालन गरिनेछ । यस्तै नौ सय ८० खोप केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला जनास्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख खगेन्द्र
शाहीले जापनिज इन्सेफलाइटिस मष्तिष्कमा लाग्ने गम्भीर प्रकारको रोग भएको बताए । यो रोग लाभी भाइरसको संक्रमणबाट हुन्छ र क्यूलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ । यो रोग लाग्दा सुरुमा सामान्य रुघाखोकी लाग्ने भए पनि त्यसपछि उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने, टाउको दुख्ने, बेसुर हुने बर्बराउने, अचेत हुने र मुर्छा पर्ने जस्ता लक्षणहरू देखा पर्ने गरेको शाहीको भनाई रहेको छ ।
यो रोग लागेका बिरामीको उचित उपचार नभएमा करिब एक तिहाई बिरामीको मृत्यु हुन्छ भने अर्को एक तिहाइ विरामीहरुमा हात खुट्टाको पक्षघात, व्यवहारमा परिवर्तन स्मरण शक्तिमा कमी आउने जस्ता स्नायुसंग सम्बन्धित कडा किसिमको मानसिक तथा शारीरिक अपांगता हुन्छ र बाँकी एक तिहाई बिरामीहरू मात्र निको हुने स्वास्थ्यकर्मीको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार