६ कार्तिक २०८१, मंगलवार

पीडितको गुनासो– ‘प्रहरीप्रशासनले कारबाहीमा चासो देखाउँदैन’



धनगढी  ।  चैत १ गते राति कैलालीमा १४ वर्षीया बालिका बलात्कृत भइन् । जन्मदिन मनाएर घर फर्कने क्रममा उनलाई बर्दगोरिया गाउँपालिका (साविक दोदोधरा–७) का करिब १८ वर्षीय अनिल साउँदले बलात्कार गरेको पीडित परिवारको आरोप छ ।
पीडित बालिकाका आफन्तले चैत ३ गते नै इलाका प्रहरी कार्यालय, सुखडमा किटानी जाहेरी दिएको बताए ।
‘इलाका प्रहरी कार्यालयमा उजुरी दायर भएको चार दिन भइसक्दा पनि कारबाही अघि बढाइएको छैन’ बालिकाका आफन्तले भने– ‘अहिले पनि पीडक खुलेआम घुमिरहेको छ ।’
पीडित बालिकाकालाई अहिले धनगढीस्थित महिला पुनस्र्थापना केन्द्र (ओरेक) को सेफ हाउसमा राखिएको जनाइएको छ ।
ती बालिकाका बुबा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् । बालिकाकी आमालाई आरोपित र उनका आफन्तले मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको दाबी छ ।
आइतबार धनगढीमा आएका पीडित बालिकाका आफन्तले प्रहरीले सो घटनाको छानबिन तथा कारबाहीमा चासो नदेखाएको सञ्चारकर्मीसँग दुखेसो पोखे ।
सुखड प्रहरी कार्यालयले भने घटनाबारे कारबाही अघि बढाइएको बताएको छ । सुखड इकालका प्रहरी कार्यालयका इञ्चार्ज कर्णसिंह कार्कीले उजुरी प्राप्त भएपछि पीडकको खोजतालस सहितका कारबाही अघि बढाइएको बताए । उनले भने– ‘घटनापछि पीडक फरार भएको छ । हामीले मातहतका प्रहरी चौकीलाई खबर गरेका छौँ । जिल्लाबाट पनि सबै प्रहरी इकाईमा खबर भइसकेको छ । पीडित बालिकाको स्वास्थ्य चेकजाच भइसकेको छ ।’
यसै गरी, गत माघ ३ गते कैलालीको बौनियामा १३ वर्षीया बालिका बलात्कृत भएको घटनामा पनि पीडकमाथि कानुनी कारबाही नभएको पीडित आफन्तले बताए । ती बालिकालाई बौनियास्थित एक होटेलमा चार दिनसम्म राखेर बर्दगोरियाका पुष्प साउँदले बलात्कार गरेको पीडितहरूको भनाई रहेकोछ ।
चार दिनपछि राति १२ बजे ती बालिका होटलबाट भाग्न सफल भएर आफन्तको सम्पर्कमा आएको बताइएको छ । घटनापछि फरार रहेका पुष्पलाई फागुन १३ गते इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको थियो । तर, १५ गते ‘बालिका खोज्ने’ सर्तमा उनलाई आफन्त शुभ साउँदको जिम्मा लगाएर छोडिएको आफन्तले बताए ।
फागुन १७ गते धनगढी उपमहानगरपालिका–५, हसनपुरका निर्मला शाहले ती बालिकालाई इलाका प्रहरी कार्यालयको सम्पर्कमा ल्याएपछि २४ गते ओरेकको सहयोगमा इलाका प्रहरी कार्यालय सुखडमा किटानी जाहेरी दर्ता भएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दर्ता भएको झन्डै दुई साता बित्नै लाग्दा समेत प्रहरीले आरोपितलाई पक्राउ नगरेको बालिकाका आफन्तको गुनासो छ ।
कैलालीमा पछिल्ला केही समययता बालिका बलात्कारको घटनामा वृद्धि भइरहेको छ । तर, प्रहरी प्रशासनको असहयोगका कारण पीडक पक्षमाथि कानुनी कारबाही हुन नसकेको अधिकारकर्मी जमुना न्यूरेले बताइन् ।
उनले प्रहरीले बलात्कारका घटनामा संलग्न भनिएकाहरू फेला नपरेको भन्दै पन्छिने गरेको आरोप लगाइन् ।
इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव निरीक्षक शिव विष्टले घटना आफ्नो इलाका भन्दा बाहिरको रहेको र सम्बन्धित प्रहरी पोस्टमा बुझ्दा आरोपित फरार रहेको भनेर खबर आएको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर बुढामगरले आरोपितहरूलाई पक्राउ गर्न उनीहरू बस्ने सम्भावित ठाउँमा प्रहरी टोली खटाउँदा पनि फेला नपरेको बताए ।
प्रवक्ता बुढामगरका अनुसार प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७२/०७३ मा १७ वटा जवरजस्ती करणीका र ३ वटा जवरजस्ती करणी उद्योगका गरी २० वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म मात्र १७ वटा जवरजस्ती करणीका र सातवटा जवरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएका छन् । जसमा १६ वर्षमुनिका १३ वटा जवरजस्ती करणी र १ वटा जवरजस्ती करणी उद्योगको रहेका छन् ।
बुढामगरले कैलालीमा पछिल्लो समय जवरजस्ती करणीका घटनामा बालिकाहरू बलात्कारको सिकारमा परिरहेको स्वीकार गर्दै त्यस्ता घटनालाई निरुत्साहित गर्न अभिभावक लगायत सम्बन्ध निकायले आ आफ्नो ठाउँबाट जागरुक हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार