१० श्रावण २०८१, बिहीबार

आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै



धनगढी  । आज (शनिवार) देखि कैलालीसहित देशभरिका ३० जिल्लामा पाँचौँ चरणको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुँदै छ । औषधी खुवाउने कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीले जिल्लामा आठ लाख १८ हजार पाँच सय २७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने जनाएको छ । देशभरिका ३० जिल्लामा गरी एक करोड पाँच लाख १३ हजार सात सय २६ जनालाई औषधी खुवाउने लक्ष्य लिएको जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाईजर हरिप्रसाद भट्टले औषधी खुवाउने अभियानको सम्पूर्ण तयारी पूरा भइसकेको बताए । अनुमोदन सँगको कुराकानीमा उनले अभियान सफल पार्न जिल्लामा तीन हजार सात सय ९७ स्वयंसेवक, र स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कैलालीमा आर्थिक वर्ष २०७२/०७३ मा एक सय ८३ जना हात्तीपाइले रोगको संक्रमणबाट हातखुट्टा सुुन्निने, नौ सय ८४ जना हाइड्रोसिल भएका र ४० जना स्तन तथा अन्य क्षेत्रमा संक्रमण प्रभावित भएका व्यक्ति फेला परेका थिए । तीमध्ये पाँच सय ९७ जना हात्तीपाइलेको संक्रमणबाट हाइड्रोसिल भएका बिरामीलाई टीकापुर र सेती अञ्चल अस्पतालमा उपचार गरिएको थियो ।
हात्तीपाइले रोग ७० भन्दा बढी मुलुकमा पाइएपछि विश्व स्वास्थ्य सङ्गठनले यो रोगको निवारणका लागि जोखिम भएका क्षेत्रमा औषधी खुवाउने र नि:शुल्क उपचार गर्ने लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
विश्वमा एक अर्बभन्दा बढी मानिस यो रोगको जोखिममा छन् भने १२ करोड मानिस यो रोगबाट संक्रमित रहेको जनाइएको छ । कुल संक्रमितमध्ये एक अर्ब पाँच करोडमा हात्तीपाइले, पाँच करोडमा अण्डकोष तथा यौनाङ्ग सुन्निएको र आठ करोडमा साधारण खाले लक्षण रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।
कैलालीमा गत वर्षसम्म आठ लाख ४० हजार चार सय जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य निर्धारण गरिएकोमा पाँच लाख ८५ हजार जनाले औषधी खाएको कार्यालयको तथ्याङ्कमा रहेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा अझैं दुई लाख ५५ हजार चार सय जनाले औषधी खान बाँकी छ । शहरी क्षेत्रमा बसोबास गर्ने र प्राय: शिक्षित परिवारले नै सो रोग विरुद्धको औषधी खान हेल्चक्राई गरिरहेको स्वास्थ्यकर्मीहरूको अनुभव छ ।
नेपालमा अझै ३६ वटा जिल्लामा हात्तीपाइले रोग उन्मुलन भएको छैन । नेपाललाई सन् २०१८ सम्ममा हात्तीपाइलेको जोखिमबाट एक प्रतिशत भन्दा कममा झार्ने लक्ष्य राखिएको र सन् २०२० सम्म मुलुकबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत टंकप्रसाद चापागाईंका अनुसार हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा विभिन्न साइड असर हुने, यो रोग विरुद्धको औषधी नेपालमा परीक्षण गर्न पठाएको जस्ता गलत प्रचारका कारण यो अभियान प्रभावकारी बन्न नसकेको बताए । उनने भने— ‘कतिपयले बिरामी नै नभई किन औषधी सेवन गर्ने’ भन्ने जस्ता प्रतिक्रिया दिने गरेका छन् ।
२०७१ सालमा जिल्लामा १५ हजार छ सय जनसङ्ख्यामा गरिएको सर्वेक्षण अनुसार ७० प्रतिशतले साईड इफेक्ट, २० प्रतिशतले आवश्यक छैन, आठ प्रतिशतले स्वास्थ्यकर्मी नआएको, ११ प्रतिशतले जानकारी नपाएको र दुई प्रतिशतले झन्झट मानेर उक्त औषधी सेवन नगरेको पाइएको थियो ।
हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा ६ वर्षसम्म प्रत्येक वर्ष कम्तीमा ६५ प्रतिशत जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खाने अभियानमा सहभागी गराउनुपर्ने लक्ष्य राखिएको छ । कैलालीमा आर्थिक वर्ष २०६९/७० मा ६३ प्रतिशत, ०७०/७१ मा ६१ प्रतिशत, ७१/७२ मा ६८ प्रतिशत र आर्थिक वर्ष ०७२/७३ मा ६४ प्रतिशत जनसङ्ख्यालाई मात्रै समेट्न सकिएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार साडेपानी, पथरैया, टीकापुर, बेलादेवीपुर र दुुर्गौलीमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवनको प्रतिशत कम छ भने मुुनुुवा, बसौटी र उर्मामा कार्यक्रम बढी सफल भएको थियो ।
कार्यालयका अनुसार जिल्लाको मुनुवा गाविसमा (८९ प्रतिशत) हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेको गर्ने प्रतिशत बढी रहेको छ भने सबैभन्दा कम पथरैया गाविसमा (३८) प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले गर्भवती महिला, दीर्घ रोगी, सिकिस्त बिरामी (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन), ओछ्यानमा परिरहेको, कुनै कडा रोगको लागि औषधी सेवन गरिरहेको जस्तै: क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घरोगी, मृगी (छारेरोग), २४ घण्टाभित्रमा ज्वरो आएको, कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले औषधी सेवन नगर्न स्वास्थ्यकर्मीको आग्रह छ भने ७० वर्ष भन्दा माथिका बृद्धबृद्धाहरूलाई राम्ररी स्वास्थ्य जाँच गरेरमात्रै औषधी खुवाउनुपर्ने छ ।

 

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार