२ जेष्ठ २०८१, बुधबार

भण्डारण क्षमता बढाउन माग



धनगढी  ।  सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनका व्यवसायीहरूले नेपाल आयल निगमले भण्डारण क्षमता बढाउनुपर्ने माग गरेका छन् ।
सुदूरपश्चिममा सवारी बढ्ने क्रम तीव्र रहेपनि नेपाल आयल निगमको भण्डारण क्षमता भने नबढ्दा समय–समयमा यस क्षेत्रका उपभोक्ताहरूले पेट्रोल डिजेलको अभाव खेप्नु परेको भन्दै उनीहरूले सो माग गरेका हुन् ।
‘नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमा अहिले १५ लाख ९० हजार लिटर भण्डार क्षमता रहेको छ’ सोमबार सुदूरपश्चिमाञ्चल
डिलर्स एशोसियसनको वार्षिक साधारण सभा तथा आठौ अधिवेशनको उद्घाटन कार्यक्रममा व्यवसायीहरूले भने ‘यस क्षेत्रमा भण्डारण क्षमताभन्दा माग बढ्दै गएको छ ।’
डिलर्स एशोसियसनका केन्द्रीय सह–सचिव टेकराज जोशीले सवारी साधन बढ्दै गएपनि निगमको भण्डारण क्षमता नबढ्दा समय समयमा उपभोक्ताहरूले पेट्रोल डिजेलको अभाव खेप्नुपरिरहेको गुनासो गरे । उनले यस क्षेत्रमा पेट्रोल डिजेलको अभाव हुन नदिन निगमको भण्डारण क्षमता बढाउनुपर्नेमा जोड दिए ।
उनले पटक–पटक मन्त्री, निगमका सचिव लगायतलाई भण्डारण क्षमता बढाउनु ध्यानाकर्षण, ज्ञापनपत्र, भेटघाट गरेको भए पनि आश्वासन मात्र पाउने तर, काम नगरेको गुनासो गरे ।
कार्यक्रममा सुदूरपश्चिम बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले समय–समयमा यस क्षेत्रमा पेट्रोल डिजेल अभाव हुनुको कारणको अध्ययन हुनुपर्ने र समस्या समाधानका लागि व्यवसायी, निगम र मन्त्रीहरूले पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा सेती महाकालि ट्रक व्यवसायी सङ्घका अध्यक्ष देवबहादुर बमले पेट्रोलियम व्यवसायीहरूले सेवामा ध्यान दिनुपर्ने सुझाव दिए । ‘पेट्रोल पम्पमा पेट्रोल डिजेल त हुन्छ तर, रातीको समयमा गाडिवालाले माग्दा अभावको बहाना बनाएर पन्छिनछन्’ उनले भने ‘व्यवसायीहरूको यस्तो हर्कतले एम्बोलेन्स, सुरक्षा निकायका सवारी साधन र अत्यावश्यकले कामले बाहिर जान लागेको उपभोक्ताहरू मारमा छन् ।’
कार्यक्रममा केन्द्रीय अध्यक्ष लिलेन्द्रकुमार प्रधानले अत्यावश्यक सवारी साधनलाई समयमै पेट्रोल डिजेलको व्यवस्था गर्नु व्यवसायीहरूको जिम्मेवारी रहेको बताएका छन् ।
‘मैले उपभोक्ताहरूबाट एम्बुलेन्स, सुरक्षा प्रशासनका सवारी लगायतका सवारी साधनलाई रातीको
समयमा व्यवसायीहरूले पेट्रोल डिजेल नदिने गरेको गुनासो सुने’ उनले भने ‘एम्बुलेन्स, सुरक्षा निकाय तथा अत्यावश्यक सवारी साधनलाई २४ सैं घण्टा पेट्रोल डिजेलको सहज व्यवस्था गर्नमा पेट्रोल व्यवसायीहरूले ध्यान दिन जरुरी छ ।’ उनले व्यवसायीहरूले ईमान्दारितापुर्वक काम गरेपनि आक्षेप खेपिरहेका बेला यस्ता क्रियाकलापले झन् नराम्रो बनाउने बताए । उनले राज्यले बनाउन लागेको निगम विनियमावलीलाई व्यवसायीहरूको हितमा बनाउन आफूले पहल गरिरहेको बताए ।
कार्यक्रममा एशोसियसनका केन्द्रीय निर्वतमान अध्यक्ष देबबहादुर मल्लले राज्य तथा उपभोक्ताहरूले पेट्रोलियम व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताउँदै ‘व्यवसायीहरूको फुटकै कारण राज्यले पनि कडा नियम बनाइरहेको छ ।’ उनले व्यवसायीहरूलाई एकजुट हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार