१३ बैशाख २०८१, बिहीबार

सरसफाईको नमुना विद्यालय



कञ्चनपुर  ।  विद्यालय परिसरभित्र न त कागजको थुप्रो छ, न कुनै फोहोर । फूल र बोटबिरुवाले हराभरा देखिन्छ झलारी–पिपलाडी नगरपालिका–३, जोनापुरस्थित जनजागृती निम्न माध्यमिक विद्यालय ।
झलारी–पिपलाडी नगरपालिका बजारभन्दा गाडीमा करिब ३० मिनेटको दूरीमा रहेको सो विद्यालय २०७१ सालबाट कैलाली र कञ्चनपुरकै सरसफाईको नमुना विद्यालय बनेको छ ।
२०५१ सालमा स्थापित सो सामुदायिक विद्यालय स्थापना कालदेखिनै अन्य सामुदायिक विद्यालयजस्तै व्यवस्थापन, फोहोर देखिने गरे पनि २०७० सालदेखि सरसफाईमा नमुना बनाउने अभियान चालेको विद्यालय शिक्षक बलबहादुर चौधरीले बताए ।
‘२०७२ सालअघि विद्यालयमा वीरेन्द्रप्रसाद भट्ट प्राधानाध्यापक थिए’ उनले भने– ‘२०७२ सालपछि सरिता चौधरी यस विद्यालयकी प्राधानाध्यापक भएपछि उनले विद्यालयबाटै सरसफाईको ज्ञान विद्यार्थीलाई दिनुपर्छ भन्ने अभियान शुरु गरिन्् ।’
२०५८ सालदेखि विद्यालयमा अध्यापन गराउँदै आएकी सरिता ०७० सालमा विद्यालयका प्राधानाध्यापकमा नियुक्ति भएपछि विद्यालयलाई सुधार्न अग्रसर भएको शिक्षक बलबहादुरले बताए ।
विद्यालयमा अहिले विद्यार्थी, शिक्षक मिलेर सफा गर्छन भने विद्यालयलाई हरियाली बनाउनमा विद्यार्थी आफै जुट्ने गरेका छन् ।
‘बिहान शिक्षक, विद्यार्थी मिलेर विद्यालय परिषर सफा गर्छन्, त्यसपछि विद्यार्थीहरू आफैले आफ्नो कक्षा सफा गर्छन् विद्यालयकी प्राधानाध्यापक सरिता चौधरीले भनिन् ‘पालैपाले शिक्षकहरूले शौचालय सफा गर्छन् ।’ उनले शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, अभिभावकको सहयोगलेनै तीन वर्षमा विद्यालयलाई सरसफाई नमुना विद्यालयको रूपमा चिनाउन सफल भएको बताइन् । अहिले विद्यार्थीहरूले विद्यालय परिषरमात्र नभई स्वस्फुर्त रूपमा आफ्नो गाउँ–टोलको बाटोमा पनि फोहोर सफा गर्ने गरेको उनले बताइन् ।
चार वटा भवन भएको विद्यालयमा १२ वटा कोठा रहेका छन् । विद्यालयको भवन अपाङ्गमैत्री छ भने शौचालय किशोरमैत्री रहेको छ । ‘अपाङ्गलाई कक्षामा जान कुनै समस्या छैन् भने किशोरीहरू महिनावारी भएका बेला महिला शौचालयमा प्यानसिट जडान तथा सेनेटरी डस्टविनको व्यवस्था गरिएको छ’ उनले भनिन् ‘महिनावारी भएका बेला छात्राहरू विद्यालय छोड्ने प्रवृति छैन् ।’
विद्यालयको व्यवस्थापन, नियम, कानुन निजी विद्यालयभन्दा राम्रो हुन लागेपछि अभिभावकहरूको प्रतिक्रिया पनि राम्रै आउन लागेको उनले बताइन् । शैक्षिक सत्र २०७२ मा एक सय १० विद्यार्थी रहेको विद्यालयमा शैक्षिक सत्र २०७३ मा एक सय ७४ विद्यार्थीहरू अध्ययन गर्न लागेका छन् ।
विद्यालय सरसफाईमा मात्रै अग्रसर नभई शिक्षामा पनि अग्रसर रहेको छ । विद्यालयले शुक्रबार, महिनाको अन्तिम दिनमा पनि चार बजेसम्मै अध्यापन गराउँदै आएको विद्यालयकी प्राधानाध्यापक चौधरीले बताइन् । ‘बिहान ९:४५ मै विद्यार्थी शिक्षकले विद्यालयमा उपस्थिति भइसक्नुपर्छ, १५ मिनेटसम्म कोठा, विद्यालय परिषर र शौचालयहरू सरसफाईमा जुट्छांै’ उनले भनिन्, ‘१० बजेदेखि अध्यापन शुरु भई साँझ चार बजे विद्यालयका बिदा गर्छौं ।’ उनले विद्यालयमा ढिलो कक्षा सञ्चालन गर्ने र छिटो बिदा गर्ने काम नगर्ने गरेको बताइन् ।
उनले अहिले विद्यालयको शैक्षिक सिकाई उपलब्धी पनि सुधार हुँदै गएको बताइन् । विद्यालयको शैक्षिक सत्र २०७२ मा ५८ दशमलब १३ प्रतिशत रहेको छ ।
विद्यालयको भवनको लागतको जानकारी, विद्यार्थीको कला, शिक्षक विद्यार्थीको उपस्थिति विवरण विद्यालयको भवनमै सबैले थाहा पाउने गरि दैनिक राखिने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार