११ बैशाख २०८१, मंगलवार

ह्वात्तै बढ्यो विद्युतीय रिक्सा



धनगढी ।  धनगढी उपमहानगरपालिका चटकपुरका लालबहादुर विक विद्युतीय रिक्सा (ई—रिक्सा) चालक हुन् । विद्युतीय रिक्सामा राम्रो आम्दानी देखेपछि उनले २०७१ सालमा रिक्सा चलाउन सुरु गरेका थिए । ०७१ साल अगाडि पैदल रिक्सा चलाउँदै आएका उनले विद्युतीय रिक्सा सहज भएको र राम्रो आम्दानी हुने देखेपछि सहकारीबाट ऋण निकालेर खरिद गरेर चलाउन सुरु गरेको बताए ।
‘विद्युतीय रिक्सा सहज र राम्रो आम्दानीको स्रोत बनेको थियो’ उनले भने— ‘एउटा सहकारी संस्थाबाट तीन लाख रुपैयाँ ऋण निकालेर खरिद गरी चलाउन सुरु गरे ।’
उनी जस्तै शिवनगरका नवीन दाहालले पनि विद्युतीय रिक्सामा राम्रो आम्दानी देखेपछि सो रिक्सा खरिद गरी चलाउन सुरु गरे । सहकारीबाट ऋण निकालेर विद्युतीय रिक्सा खरिद त गरे तर, अहिले सहकारीको ऋण तिर्न धौधौ भएको उनले बताए ।
०७१ सालतिर यस क्षेत्रमा झन्डै दुई सयको हाराहारीमा रहेको विद्युतीय रिक्सा यस वर्षसम्म आउँदा ह्वात्तै वृद्धि भएपछि आम्दानी न्यून र खर्च बढी हुँदा बैङ्कको ऋण समेत तिर्न समस्या भइरहेको उनले बताए ।
०७१ सालतिर विद्युतीय रिक्सामा दैनिक आम्दानी एक हजार पाँच सयदेखि दुई हजारसम्म थियो विद्युतीय रिक्सा चालक लालबहादुर विकले भने अहिले त दैनिक पाँच सय पनि आम्दानी गर्न सकिदैन् । ह्वात्तै विद्युतीय रिक्साको सङ्ख्यामा वृद्धि हुँदा आम्दानी घट्दै गएको उनले बताए ।
०७०/०७१ सालमा झन्डै दुई सय भन्दा बढी विद्युतीय रिक्सा यस जिल्लामा सञ्चालन थिए भने ०७१/०७२ सम्मा एक हजार पुगेको थियो । आर्थिक वर्ष २०७२/०७३ को माघ महिनासम्ममा जिल्लामा एक हजार आठ सय आठ विद्युतीय रिक्सा सञ्चालनमा छन् । जसमध्ये कालो नम्बर प्लेटका एक हजार दुई सय ९० रहेको यातायात कार्यालय कैलालीले जानकारी दिएको छ ।
विद्युतीय रिक्सा व्यवस्थापन गर्न माग
यातायत व्यवस्था कार्यालयल सेती अञ्चल कैलालीले विद्युतीय रिक्साको दर्ता सङ्ख्यामा वृद्धि गरेको भन्दै विद्युतीय रिक्सा व्यवसायी सङ्घले सोमबार यातायात कार्यालयमा दुई घण्टा धर्ना दिएका छन् । धनगढीको क्याम्पसरोडबाट विद्युतीय रिक्साले र्‍याली गर्दै यातायात कार्यालयमा पुगी धर्ना दिएका हुन ।
व्यवसायीले विद्युतीय रिक्साको दर्ता प्रक्रिया नगरपालिकामा सुरु हुनु पर्न, लिखित परीक्षा खारेज गनु पर्ने, रिक्साको व्यवस्थापन गनुपर्न भन्दै धर्ना दिएका
थिए । विद्युतीय रिक्सा व्यवसायीले सडक साघुरो भए पनि यातायत कार्यालयले दर्ता प्रक्रिया नरोकेको रिक्सा चालक विनोद जोशीले आरोप लगाए ।
धनगढी बजारमा छ सय ५४ वटा अटो रिक्सा चल्नु पर्न ठाउँमा हाल एक हजार सात सयको हाराहारीमा रिक्सा सञ्चालन भइरहेको रिक्सा इ–अटो रिक्सा चालक ऐनबहादुर सिंहले बताए । उनले हाल भएको रिक्सा व्यवस्थापन गरेर मात्र नयाँ दर्ता सुरु गर्नुपर्ने माग राखे ।
विद्युतीय रिक्सा चालक सङ्घका अध्यक्ष मीनबहादुर जाशीले एउटै यातायत कार्यालयले एउटै नम्बर तीनवटा रिक्सालाई दिइएको ओरोप लगाए । उनले यातायत कार्यालयले आवश्यकताका आधारमा वार्षिक रूपमा नयाँ रिक्सा थप्नु पर्ने बताए ।
यातायत व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख केशवप्रसाद जोशीले विद्युतीय रिक्सा व्यवसायीका केही माग सकारात्मक भए पनि सबै माग पुरा गर्न नसकिने बताए । उनले यातायत विभाग र यातायत मन्त्रालयले विद्युतीय रिक्सा व्यवस्थापनका लागि स्पष्ट नीति नियम नबनाएका कारण केही असहज भइरहेको बताए । कार्यालयले सयमानै ऐन तथा नीति निमार्ण गरे यो समस्या समाधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार