७ जेष्ठ २०८१, सोमबार

सामुदायिक वनमा बेतिथी



तीनवटा सामुदायिक वनमा काठदाउराका नाममा व्यापक मात्रामा काँचो रुख काटिने गरेको पाइएको छ ।

रानिकुण्डा  ।  कैलालीको चुरे र तराईसँग जोडिएका तीनवटा सामुदायिक वनबाट काठदाउरा निकासीका नाममा व्यापक मात्रामा हरिया रूख काटिने गरेका छन् ।
कैलालीको रामपुर इलाका वन कार्यालय अन्तर्गत पर्ने दोदोधरा गाविस वडा नम्बर १ रानीकुण्डा (उत्तर) मा रहेका रानीजरुवा, लालीगुँरास र दानुफाटा नमुना सामुदायिक वनमा केही सातादेखि दैनिक ठुलो परिमाणमा सालका हरिया रुख काटिने गरेको पाइएको छ ।
स्थानीयका अनुसार ती सामुदायिक वनका पदाधिकारीहरू र वन कर्मचारीको मिलोमतोमा हरिया रुख काटिने गरेका छन् । यद्यपि सामुदायिक वनका पदाधिकारी भने आफ्नो वनमा कुनै गलत कार्य नभएको दाबी गर्दै अरूमाथि दोषारोपण गरिरहेका छन् । दानुफाँटा नमुना सामुदायिक वनका अध्यक्ष टेकराज जोशीले आफ्नो सामुदायिक वनबाट सुकेको काठ मात्र वितरण गरेको दाबी गरे । ‘ती दुई सामुदायिक वनमा काँचो रूख काटिने गरेको होला’ उनको दाबी थियो— हाम्रो वनमा भने सुकेको काठदाउरा मात्रै वितरण भइरहेको छ ।

तर, सामुदायिक वनका पदाधिकारीहरूले दाबी गरे झैँ ती वनबाट सुकेका तथा ढलापडा काठ मात्र सङ्कलन र वितरण हुने गरेका छैनन् । दैनिक ठुलो सङ्ख्यामा काँचो रूख काटिने गरेका छन् । ती सामुदायिक वनमा दैनिक सयौँ गोरु गाडाको आवतजावत हुने गरेको छ । खुलेआम काँचा रूख काट्ने र गोलिया तथा दाउरा निकासी हुने गरेका छन् ।
काठदाउरा सङ्कलन तथा निकासीका लागि छुटपुर्जी लिएको नाममा खुलेआम सालका हरिया रूख काटिने गरे पनि नियन्त्रणका लागि कुनै पहल नभएको स्थानीयको आरोप छ । रानिकुण्डा—१ का गोपाल पौडेल भन्छन्— भरखर काटिएका रूखका गोलिया तथा दाउरा लादेर दैनिक सयौँ गोरुगाडा यी सामुदायिक वनबाट बाहिरिन्छन्, तर कसैले चासो लिएको पाइएको छैन ।
स्थानीयहरूका अनुसार यी वनमा हरेक वर्ष हिउँदमा मनपरी ढङ्गले हरिया रूख काट्ने र निकासी गरिएको छ । ‘यस्तो सधैँ हुने गरेको छ’ पौडेलले भने— तर, सामुदायिक वनका पदाधिकारी अथवा वन कर्मचारीहरूले कुनै चासो गर्दैनन् ।
ती सामुदायिक वनले सुकेका काठदाउरा सङ्कलनका लागि प्रति गोरुगाडा पाँच सयदेखि एक हजार रुपैयाँको रसिद काट्ने गरेको पाइएको छ । त्यसरी रसिद काटेपछि वनभित्र कसले कस्तो रूख कटानी गर्‍यो भन्नेमा कुनै चासो लिने गरिएको छैन ।
रानीकुण्डामा रहेका सामुदायिक वनहरूमा बेतिथी बढेको व्यापक जनगुनासो गरिएको स्थलगत रिपोर्टिङ गरिएको थियो । ती वनमा व्यापक बेतिथी रहेको पाइएको छ । कतिपयले त रसिद नै नकाटेर पनि गोरुगाडामा गोलिया तथा दाउरा बोकिरहेका थिए ।
स्थानीयका अनुसार ती सामुदायिक वनभित्र नजिकका उपभोक्तालाई प्राय: प्रवेश गर्न नदिने, तर टाढाटाढाका उपभोक्तालाई अनुमति दिने गरिएको छ । स्थानीय दीपक बुढाले भने— हामीले कैयौँ पटक गुनासो गरिसक्यौं, तर वनका पदाधिकारीहरू कुनै चासो लिदैनन् ।
कैलालीका जिल्ला वन अधिकृत रमेश चन्दले पनि रानीकुण्डाका तीनवटा साुमदायिक वनमा व्यापक मात्रामा काँचो रूख र काठ काट्ने र निकासी भइरहेको आफूले पनि सुनेको बताए । ‘मैले यसबारे इलाका वन कार्यालयलाई आवश्यक निर्देशन दिइसकेको छु’ उनले इलाका वनका अधिकृत दिलीप यादवको टोलीले आवश्यक छानबिन गरिरहेको बताए ।
जिल्ला वन अधिकृत चन्दले ती सामुदायिक वनले वातावरण प्रभाव मूल्याङ्कन समेत नगरी खोलानालाबाट नदीजन्य वस्तु समेत उत्खनन, सङ्कलन र विक्री पनि गर्दै आइरहेको गुनासो आएको बताए । उनले भने— स्थानीयको गुनासो अनुसार कुनै पनि किसिमको गलत कार्य भएको पाइएमा आवश्यक कारबाही गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार