७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा बैङ्किङ कारोबारमा उल्लेख्य वृद्धि



धनगढी  ।  सुदूरपश्चिममा केही वर्षयता बैङ्किङ कारोबारमा उल्लेख्य वृद्धि आएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसहित सबै नौ जिल्लामा बैङ्क तथा वित्तीय संस्थाको विस्तारसंगै निक्षेप सङ्कलन तथा लगानी प्रवाहमा पनि वृद्धि आएको छ ।
सुदूरपश्चिमको कैलालीमा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा छन् भने निक्षेप सङ्कलन तथा ऋण लगानीमा पनि अगाडि रहेको छ ।
नेपाल राष्ट्र बैङ्क, धनगढीका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिमका सबै नौ जिल्लामा बैङ्क तथा वित्तीय संस्थाहरूबाट ६० अर्ब ४४ करोड रुपैयाँ ऋण लगानी भएको छ । सो अवधिमा यी बंैक तथा वित्तीय संस्थाहरूले ३७ अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् ।
राष्ट्र बैङ्कद्वारा आइतबार धनगढीमा आयोजित पत्रकारहरूसंगको अन्तरक्रियामा बैङ्कका निर्देशक विश्रुत थापाले कैलालीमा सञ्चालनमा रहेका ८४ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ४३ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी भएको छ । यो सुदूरपश्चिमका सबै जिल्ला भन्दा बढी ऋण लगानी अङ्क हो ।
सुदूरपश्चिममा दुई सय तीन बैङ्क तथा वित्तीय संस्था रहेका छन् । सबैभन्दा कम बाजुरामा छ वटा मात्रै बैङ्क तथा वित्तीय संस्था रहेका छन् ।
त्यस्तै, कञ्चनपुरमा ४४ वटा बैङ्क तथा वित्तीय संस्थाहरूबाट १२ अर्ब २६ करोड रुपैयाँ ऋण लगानी भएको छ ।
डडेल्धुरामा १६ वटा बैङ्क तथा वित्तीय संस्थाहरूबाट एक अर्ब ४० करोड, बैतडीमा नौ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ७२ करोड र अछाममा १७ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ४५ करोड रुपैयाँ कर्जा लगानी भएको छ उनले बताए ।
त्यस्तै, दार्चुलामा आठ वटा बैङ्क तथा वित्तीय संस्थाबाट ५९ करोड, बाजुरामा ६ वटा बैङ्क तथा वित्तीय संस्थाबाट २४ करोड तथा बझाङमा सात वटा बैङ्क तथा वित्तीय संस्थाबाट २६ करोड रुपैयाँ ऋण लगानी भएको छ ।
त्यस्तै, गत आर्थिक वर्षमा कैलालीमा बैङ्क तथा वित्तीय संस्थाहरूले १८ अर्ब नौ करोड रुपैयाँ निक्षेप
सङ्कलन गरेका छन् भने कञ्चनपुरमा नौ अर्ब १० करोड, डडेल्धुरामा दुई अर्ब २९ करोड रुपैयाँ निक्षेप सङ्कलन भएको छ ।
त्यस्तै, डोटीमा एक अर्ब ९६ करोड, बैतडीमा एक अर्ब ६३ करोड, अछाममा ७८ करोड, दार्चुलामा एक अर्ब २५ करोड, बाजुरामा ६७ करोड र बझाङमा ९६ करोड रुपैयाँनिक्षेप सङ्कलन भएको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका निर्देशक थापाका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म सुदूरपश्चिमभरी
‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्था एक सय १२, ‘ख’ वर्गका ३२, ‘ग’ वर्गको एक तथा ‘घ’ वर्गका ८६ वटा रहेको बताए ।
कार्यक्रमका नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था, मुद्रास्फिती, आयात निर्यात, वैदेशिक रोजगार लगायतका पक्षमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार