११ बैशाख २०८१, मंगलवार

एक्सिलेन्ट अवार्डबाट सम्मानित प्राचार्य भट्ट भन्छन्– सम्मानसंगै दायित्व



सुदूरपचिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित धनगढीस्थित ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्टलाई पिपल्स च्वाइस–२०१६, एक्सिलेन्ट अवार्डद्वारा उत्कृष्ट प्राचार्य र शिक्षा विज्ञका रूपमा सम्मान गरिएको छ । उनले ऐश्वर्य विद्या निकेतनलाई सर्वोत्कृष्ट शिक्षण संस्था बनाउन महत्त्वपूर्ण योगदान दिएको मूल्याङ्कन गरेर सो संस्थाले सम्मान गरेका छ । ‘शैक्षिक क्षेत्रमा काम गर्ने हामीहरूलाई समाजले गर्ने सम्मान हाम्रा लागि निकै मूल्यवान हुन्छ’ बुधवार अनुमोदनसंगको कुराकानीमा प्राचार्य भट्टले भने– यो सम्मानले दायित्व पनि वृद्धि गरेको महसुस गरेको छु । प्राचार्य भट्टसँग गरिएको कुराकानीको सारसंक्षेप । प्रस्तुति : प्रेम चौधरी

धर्मदेव भट्ट
प्राचार्य, ऐश्वर्य विद्या निकेतन

† भरखरै ‘पिपल्स च्वाइस–२०१६, एक्सिलेन्ट अवार्डद्वारा ‘वेष्ट प्रिन्सिपल एन्ड एजुकेशनल एक्स्पर्ट’ बाट सम्मानित हुनु भएको छ । कस्तो अनुभव गर्नुभएको छ ?
– शिक्षा क्षेत्रमा काम गर्ने हामीहरूका लागि यस्तो सम्मानले निकै महत्त्व राख्छ । सम्मान वा पुरस्कार सानो वा ठुलो भन्ने हुँदैन । मलाई वेष्ट प्रिन्सिपल एन्ड एजुकेशनल एक्स्पर्ट अवार्डबाट सम्मान गर्ने संस्थाप्रति आभारी छु । यो सम्मानलाई मैले व्यक्तिगत भन्दा पनि सिङ्गो सुदूरपश्चिमलाई नै सम्मान गरेको रूपमा ठानेको छु । यो सम्मान प्राप्त गर्नुमा मेरो कामले मात्रै नभएर विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकको उत्तिकै महत्त्वपूर्ण योगदान रहेको म ठान्दछु ।

†तपाईँले यो सम्मान प्राप्त गर्छु भन्ने कहिल्यै अपेक्षा गर्नु भएको थियो ?
– थिएन । साच्चै भन्नुपर्दा मलाई यसअघि यो संस्था र अवार्डबारे जानकारी नै थिएन । उत्कृष्ट प्राचार्य तथा शिक्षाविज्ञ वा विदका रूपमा सम्मान पाउनु चानचुने कुरा हो भन्ने चाही लाग्दैन । निश्चय पनि यसका लागि संस्थाले मूल्याङ्कनका आधार बनाएको थियो होला । हामी (ऐश्वर्य) को शैक्षिक, भौतिक लगायतका पक्षको उचित मूल्याङ्कन गरेर नै यो सम्मान प्रदान गरेको हो जस्तो लाग्छ । यो सम्मान पाउनु मेरा लागि अप्रत्याशित नै थियो । सम्मानको खबर पाएपछि एक छिन त पत्याउँनै सकिन । पछि निकै गौरव महसुस भयो ।

†तपाईँले प्राप्त गर्नु भएको सम्मान जोगाई राख्न भविष्यमा के कस्तो प्रयास गरिराख्नु हुन्छ ?
– मैले, अघि पनि निवेदन गरे कि यस क्षेत्रमा पुरस्कृत तथा सम्मानित हुनु ठुलो कुरा हो । हाम्रो लागि समाजले सम्मान तथा पुरस्कार दिनु हाम्रा लागि निकै महत्त्व राख्छ । यो सम्मानलाई जोगाउन चुनौती पनि थपिएको छ । र, थप दायित्व पनि थपिएको छ । यो विद्यालयलाई अझै शैक्षिक, भौतिक र आर्थिक रूपमा सबल बनाउने दायित्व थपिएको
छ । अझैं गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिभारा पूरा गर्नु छ । समयानुकुलका विषय तथा भौतिक सुधार अरू चुनौती छन् । यो मैले मात्रै पाएको सम्मान होइन । म निमित्त मात्रै हुँ । त्यसैले यो सम्मानलाई जोगाई राख्न सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकको महत्त्वपूर्ण भूमिका छ । कोही पनि एक्लो व्यक्तिले यत्रो ठुलो संस्थाका लागि केही गर्न सक्दैन । यसका लागि विद्यार्थी, अभिभावक, सञ्चालन समिति, सरोकारवाला सबैको अहम् भूमिका रहन्छ । यो मिहिनेत, लगनशीलता र इमान्दारितामा भर पर्ने कुरा हो । म यी सबैमा कटिवद्ध छु ।

†तपाईँ ऐश्वर्यले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कसरी विश्लेषण गर्नुहुन्छ ?
– ऐश्वर्य विद्या निकेतन सुदूरपश्चिमको शिक्षा क्षेत्रको अग्रणी संस्था तथा धरोहरका रूपमा स्थापित भइसकेको छ । २०३३ सालमा सात जना विद्यार्थी राखेर सञ्चालन भएको यो विद्यालयमा हाल चार हजार बढी विद्यार्थी अध्ययन गर्छन् । यो विद्यालय नेपाल सरकारको सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित स्कुल हो । यो नाफामुखी नभएर सेवामुखी शैक्षिक संस्था हो । यो संस्थामा कोही मालिक भन्ने हुँदैन, न त कसैको लगानी हुन्छ । यस विद्यालयले सुदूरपश्चिमका लागि मात्र नभएर राष्ट्रका लागि समयानुकुलको जनशक्ति उत्पादन गरिरहेको छ । चाहे मेडिकल क्षेत्र होस् वा इन्जिनियरिङ, अथवा औद्योगिक क्षेत्र होस् वा सुरक्षा या निजामती क्षेत्र अथवा कृषि क्षेत्र नै किन नहोस्, ती सबैमा ऐश्वर्यका विद्यार्थी पुगेका छन् । यो हाम्रा लागि गौरव हो, पहिचान हो ।

†अन्त्यमा के भन्नुहुन्छ ?
– ऐश्वर्य गुणस्तरीय शिक्षा दिन स्थापना भएको शैक्षिक संस्था हो । हामीहरू अहिले हाइ–स्कुल, कलेज या क्याम्पस तहमा गुणस्तरीय शिक्षा दिन तत्पर छौँ, सफल छौँ । यो हामीले भन्दा पनि परिणामले देखाइरहेको छ । प्राचार्यका हैसियतले मैले यो विद्यालयको विकासका लागि सबैको सहयोगको अपेक्षा गरेको छु । भोलि (२२ गते) विद्यालयको ४० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समापन हुँदै
छ । यो दिवसमा उपस्थितिका लागि म सम्पूर्ण अभिभावक, बुद्धिजीवी, समाजसेवी, पत्रकार आदिमा हार्दिक निमन्त्रणा गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार