७ बैशाख २०८१, शुक्रबार

बोटविरुवा नमास्नुस् है, जरिवाना तिर्नुपर्ला !



पवेरा  ।  रुखविरुवा संरक्षणका लागि कैलालीको पवेरा गाउँ विकास समितिले कडा पाइला चालेको छ । गाविसले सडकको दायाँबायाँ रोपिएका रुखविरुवा जोगाउन तथा छाडा पशुचौपाया नियन्त्रण गर्न कडा नियम लगाएको छ ।
गाविसले गत असार महिनामा मूल सडकका दायाँबाँया किनारामा तीन हजारभन्दा बढी बोटविरुवा रोपेकोमा नोक्सान गर्नेमाथि दण्डजरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।
गाविस सचिव बलराम चौधरीका अनुसार सडकको दायाँबायाँ रोपिएका बिरुवालाई क्षति पुर्‍याउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लगाइएको छ । त्यस्तै, ती बोट पशुले क्षति पुर्‍याएमा पशुधनीबाट पाँच सय रुपैयाँ जरिवाना असुल्ने गरिएको छ ।
उनले बिरुवा क्षति पुर्‍याएका दुई व्यक्ति र एक पशुचौपाया धनीबाट जरिवाना असुल गरिएको बताए ।
उनले पवेरालाई वातावरणमैत्री गाविस बनाउने अभियानअन्तर्गत सो निर्णय पनि लागू गरिएको बताए । ‘हामीले गाविसलाई वातावरणमैत्री बनाउने प्रयासस्वरूप सडकका दायाँबायाँ वृक्षारोपण गरेका छौँ’ गाविस सचिव चौधरीले बोटविरुवाको संरक्षणका लागि दण्डसजायको व्यवस्था गरिएको बताए ।
पवेरालाई वातावरणमैत्री गाविस बनाउन चालू आर्थिक वर्षदेखि ‘एक घर, दुई रुख’ नीति लागू गरिएको छ । गाविस सचिव चौधरीले यस वर्ष गाविसको भित्री सडकहरूका किनारामा पनि विक्षारोपण गरिने बताए ।
पवेरा गाविसले गत असारमा सडकमा जथाभावी छोडिने पशुचौपायाका कारण हुने दुर्घटना रोक्न तथा यातायात सञ्चालनमा हुने कठिनाइ कम गर्न पशुधनीबाट जरिवाना असुल गर्ने नियम लागू गरेको थियो । गाविस सचिव चौधरीले भने– ‘हुलाकी सडकलाई पशुचौपायामुक्त बनाउन र गाविसलाई वातावरणमैत्री बनाउन यो नियम लागू गरेका छौँ ।’
राजमार्गदेखि प्रत्येक सडकमा जथाभावी पशुचौपाया छोड्ने प्रवृत्तिका कारण सडक दुर्घटनामा वृद्धि हुनुका साथै यातायात सञ्चालनमा कठिनाइ र सडक छेउछाउमा रोपिएका बिरुवाहरू नष्ट हुन सक्ने भएपछि गाविसले कडा पाइला चालेको जनाएको छ । गाविस सचिव चौधरीले गाविसको निर्णयमा स्थानीय जनता, राजनीतिक दल, भलमन्सा, विद्यार्थी, सामाजिक संघसंस्था सबैको सहयोग र समर्थन रहेको बताए ।
गाविसले यो नियम लागू गरेपछि पशुचौपाया छाडा छोड्ने प्रवृत्तिमा केही कमी आएको छ । स्थानीय निलम चौधरीले भनिन्– ‘अहिलेसम्म सडकमा पशुचौपाया छाडा छोड्ने र सवारी साधनले ठक्कर दिएमा उल्टै रकम असुल्न पल्केकाहरूलाई यो नियमले झस्काएको हुनुपर्छ ।’
नेपाली काँग्रेसका पवेरा गाउँ सभापति रामप्रसाद चौधरी पनि यो नियम लागू गरेपछि सकारात्मक परिणाम आउनेमा विश्वस्त छन् । भन्छन्– ‘देशभरिका राजमार्ग, मुख्य सडक, शाखा सडक जहाँतहीँ छाडा पशुचौपायाको बिगबिगी भइरहेका वेला कैलालीको नमुना गाविस बनाउन अग्रसर स्थानीय, राजनीतिक दल, गाविसको पहल सबैका लागि उदाहरणीय र अनुकरणीय बनेको हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार