१६ चैत्र २०८०, शुक्रबार

द्वन्द्वपीडित कृषकका लागि कार्यक्रम



धनगढी  ।  कैलालीमा द्वन्द्वपीडित कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरिएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत जिल्लामा द्वन्द्वपीडित किसानलक्षित कार्यक्रम लागू गरिएको जनाइएको छ ।
सो कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा २२ जना द्वन्द्वपीडित किसानलाई समेटिने छ । कार्यालयका सूचना अधिकारी गोविन्दराज जोशीले द्वन्द्वपीडित किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सञ्चालित यो कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
यो कार्यक्रममा माओवादी युद्धकालमा मारिएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते तथा अपाङ्ग र विस्थापित परिवारलाई सहभागी गराइने उनले बताए । ‘यो कार्यक्रमअन्तर्गत सहभागी हुने किसानलाई तरकारी खेतीमा ८५ प्रतिशतसम्म अनुदान दिइने व्यवस्था गरिएको छ’ उनले यो कार्यक्रम पहिलो चरणमा सुुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डोटीसहित देशभरिका नौ जिल्लामा कार्यक्रम लागू भएको बताए ।
जिल्ला कृषि विकास कार्यालय, कैलालीका वरिष्ठ कृषि अधिकृत युवराज पाण्डेका अनुसार यो कार्यक्रममा सहभागी हुने किसानले कम्तीमा १० कठ्ठा जग्गामा तरकारी खेती गर्नुपर्ने प्रावधान राखिएको छ ।
अनुदानसहितको यो कार्यक्रममा सहभागी बन्न इच्छुक किसानका लागि शुक्रबारसम्म निवेदन दिने म्याद भएकोमा सो दिन बिदा परेकोले आइतबारसम्म दिन सकिने उनले बताए ।
वरिष्ठ कृषि विकास अधिकृत पाण्डेका अनुसार आफ्नो स्वामित्वको जग्गा नभएका किसानले भाडामा जग्गा लिएर पनि तरकारी खेती गर्न पाउने छन् । ‘किसानलाई फिर्ता गर्नु नपर्ने गरी सुरु मै १५ हजार रुपैयाँ अनुदान प्रदान गरिने छ’ उनले भने ।
यो कार्यक्रममा सहभागी बन्न निवेदन दिएका किसानले उत्पादन गर्न चाहेको तरकारी र जग्गाको माटोको उत्पादन क्षमताबारे विश्लेषण गरी प्राविधिकले सल्लाह दिने उनले बताए । कार्यक्रमका लागि उत्तीर्ण किसानले प्रति सिजन ४० हजार रुपैयाँसम्म अनुदान रकम पाउने व्यवस्था मिलाइएको छ । वरिष्ठ कृषि अधिकृत पाण्डेले किसानलाई दुई किस्तामा अनुदान रकम उपलब्ध गराइने बताए ।

कैलालीमा कृषिमा ११ वटा कार्यक्रम
जिल्ला कृषि विकास कार्यालय, कैलालीले जिल्लामा चालू आर्थिक २०७३/०७४ मा कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।
सो कार्यालयले बिहीबार धनगढीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा जिल्लामा सञ्चालन भइरहेका र हुने कार्यक्रमबारे जानकारी गराइयो ।
सो अवसरमा कार्यालयका वरिष्ठ कृषि अधिकृत युवराज पाण्डेले चालू आर्थिक वर्षमा कैलालीमा विशेष कृषि उत्पादन, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, एकीकृत जलस्रोत व्यवस्थापन आयोजनासहित ११ वटा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
ती कार्यक्रम सञ्चालनका लागि ११ करोड १७ लाख ९९ हजार रुपैयाँ खर्च गरिने छ । वरिष्ठ कृषि अधिकृत पाण्डेका अनुसार कैलालीमा ‘प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना’ सञ्चालनका लागि छ करोड ४० लाख ६८ हजार रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै, कृषि प्रसार कार्यक्रममा दुई करोड ८७ लाख ९७ हजार र द्वन्द्वपीडित किसान लक्षित कार्यक्रममा १० लाख रुपैयाँ विनियोजन भएको छ ।
त्यस्तै, विशेष कृषि उत्पादन कार्यक्रमका लागि २० लाख, साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजनामा चार लाख ४६ हजार र एकीकृत जलश्रोत व्यवस्थापन आयोजनामा २६ लाख चार हजार रुपैयाँ खर्च गरिने लक्ष्य रहेको छ ।
जिल्लामा बाली विकास कार्यक्रममा ५९ लाख ८५ हजार, घरबगैचा कार्यक्रममा १२ लाख ३१ हजार, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रममा १३ लाख २० हजार, बाली संरक्षण कार्यक्रममा तीन लाख ९४ हजार, सहकारी खेती, साना सिंचाई तथा मलबीऊ ढुवानी कार्यक्रममा ३९ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको वरिष्ठ कृषि विकास अधिकृत पाण्डेले बताए ।
कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले कृषकलाई व्यावसायिक बनाउन सकिए मात्र मुलुक कृषिमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार