१४ बैशाख २०८१, शुक्रबार

छाडा पशु लखेट्न कतै जाग्राम, कतै आम्दानी



धनगढी । अत्तरिया नगरपालिका–८, सेहेरीका श्रीबहादुर चौधरी छाडा पशुचौपायाबाट गहुँ बाली बचाउँन रातभर जाग्राम बस्ने गरेका छन् । डेढ बिगाहा क्षेत्रफलमा लगाइएको गहुँ बाली बचाउँन रातभर जाग्राम बस्दा समेत छाडा पशुचौपायाले दुई कठ्ठा क्षेत्रफलमा लगाएको गहुँ बाली खाइदिएपछि श्रीबहादुर चौधरी चिन्तित छन् । ‘गाईगोरु भगाउन रातभर जाग्राम बस्छांै, दिनभर पालो लगाएर हेर्छौ तर पनि बाली बचाउन सकिरहेका छैनौँ,’ श्रीबहादुर चौधरीले भने, ‘छाडा पशुचौपायाले दिनसम्म दु:ख दिइरहेका छन् ।’
श्रीबहादुर जस्तै त्यस क्षेत्रका अरु कृषक पनि बाली बचाउन रातभर जाग्राम बस्ने गरेको डोग्ला चौधरीले बताए । ‘३/४ वर्षदेखि समस्या झेल्दै आएका थियौं पछिल्लो वर्ष समस्या झनै बढेको छ दिनभर छाडा पशुचौपाया जंगलमा चर्छन् रातपरेपछि खेतबारीमा आउँछन्, घरभित्र पसेर नून समेत खाइदिन्छन्’ डोग्लाले भने, ‘बाली बचाउन हामी आगो बालेर जाग्राम बस्छौं ।’
स्थानीय राजेश रानाले सो क्षेत्रमा दुई सय बढीको संख्यामा छाडा पशुचौपाया रहेको बताए । दिनभर जंगलमा चर्ने छाडा पशुचौपाया रातपरेपछि केही गाउँतर्फ पस्ने र केही लक्ष्मी सामुदायिक वनमा बास बस्न जाने गरेको बताए । अत्तरिया लगायतको क्षेत्रबाट ल्याइएका छाडा पशुचौपायाले सेहेरीवासीलाई समस्या थपिदिएको रानाको भनाई छ ।
छाडा पशुचौपायाका कारण धेरैजसोले दु:ख पाइरहेको बेला लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहभित्र रहेको ‘शिवकुण्ड’ मा बस्दै आएका भगत दानबहादुर रानाले भने राम्रो आम्दानी गरिरहेका छन् ।
भल्का शिवकुण्डमा आश्रयका लागि आउँने सयौंको संख्यामा रहेका छाडा पशुचौपायाको गोबर बेचेर भगत दानबहादुर रानाले मासिक आठ हजार बढी रुपैयाँ कमाउँदै आएका छन् ।
भगत रानाले मासिक दुई ट्रली बढी गोबर बेच्छन् । उनले प्रति ट्रली चार हजार रुपैयाँमा बेच्दै आएको बताए । दिनभर जंगलमा चर्ने छाडा पशुचौपाया रातको समयमा शिवकुण्डमा पानी पिउँने र सोही ठाउँमा बस्ने गर्दछन् । भगत राना बिहानै उठेर यत्रतत्र रहेका गोबर संकलन गरेर एक ठाउँमा थुपार्छन् र ट्याक्टरवाला थुपारेकै स्थानबाट पैसा दिएर लैजाने
गर्दछन् । महिनामा दुई ट्रली हुन्छ रानाले भने, मासिक आठ हजार कहि जाँदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार