२३ बैशाख २०८१, आईतवार

प्राविधिकहरूको माग– पशुस्वास्थ्यलाई पनि अत्यावश्यक सेवा बनाऊ



धनगढी । पशुस्वास्थ्य प्राविधिकहरूले पशुस्वास्थ्य सेवालाई अत्यावश्यक सेवामा सूचीकृत गर्न माग गरेका छन् । उनीहरूले पशुस्वास्थ्य सेवालाई अत्यावश्यक सेवा बनाउन ‘एक गाउँ, एक प्राविधिक’ नीति प्रभावकारी रूपमा अवलम्बन गर्नुपर्ने र अतिरिक्त समयमा काम गर्ने प्राविधिकलाई भत्ताको व्यवस्था गर्न पनि माग गरे ।
शुक्रबार धनगढीमा भएको नेपाल पशुस्वास्थ्य सेवा प्राविधिक सङ्घको सुदूरपश्चिमाञ्चल क्षेत्रीय भेलामा सहभागी प्राविधिकहरूले सरकारले पशुपालनलाई व्यावसायीकरण गराउन ध्यान नदिएको गुनासो गरे ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य जनक रावलले पशुपालन व्यावसायिक बनाउन सकेमात्र किसान, प्राविधिकले फाइदा पाउने चर्चा गरे ।
उनले अनुदान वितरणको लाभ वास्तविक किसानले पाउन नसकेकाले पशुपालन व्यवसायमा ह्रास आइरहेको बताए । ‘यो अनुदानबाट वास्तविक किसानहरू वञ्चित भइरहेका छन्’ उनले वास्तविक किसानसम्म अनुदानको लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
पशुस्वास्थ्य सेवा प्राविधिकहरूले माग गरेअनुरूप सरकारले हाल एक हजार पाँच सय प्राविधिक नियुक्ति गरे पनि उनीहरू हाल काम नपाएर बसिरहेको उनले बताए । उनले स्थानीय निकायको बजेटमा कम्तीमा १५ प्रतिशत कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि विनियोजन गर्ने नीति बनाउन माग गरे ।
कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार दुर्गाप्रसाद सिमरियाले सरकारले दूध, मासु र अण्डामा मलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिए पनि त्यसअनुरूपको कार्यक्रम नबनाएको चर्चा गरे । उनले भने– लक्ष्य मात्रै राखेर हुँदैन, त्यो प्राप्तिका लागि न त आवश्यक प्राविधिकहरूको व्यवस्था नै गरिएको छ, न उनीहरूका लागि सेवाअनुसारको सुविधाको नै प्रबन्ध गरिएको छ ।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष शंकर खड्काले पशुस्वास्थ्य सेवाका प्राविधिकहरूले चौविसै घण्टा पशुस्वास्थ्य सेवामा खटिनुपर्ने भए पनि सरकारले उनीहरूका लागि जोखिम बिमाको व्यवस्था नगरेको गुनासो गरे ।
कार्यक्रममा आधिकारिक कर्मचारी ट्ेरड युनियन, डडेल्धुरा जिल्ला अध्यक्ष श्यामप्रसाद ओझाले सरकारले लागू गरेको ‘प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना’ मा पशुपालनलाई पनि समेट्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा सांसद पुष्करनाथ ओझाले पशु प्राविधिकहरूका माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पशु प्राविधिकहरुले कृषि र पशुपालन क्षेत्रको बजेट वृद्धि गनुपर्ने, कृषि उत्पादनका लागि अनुदानमा वृद्धि र न्यायोचित वितरण गर्नुपर्ने, पशु औषधी पसल दर्ता गर्ने व्यवस्था गर्न माग गरे ।
संघका क्षेत्रीय उपाध्यक्ष शंकर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुर सभापति हरिप्रसाद बोहरा, कैलाली जिल्ला सचिव दीपकराज जोशी, नेपाल निजामती कर्मचारी ट्रेड युनियनका केन्द्रीय सदस्य शिव वाग्ले, नारायणप्रसाद शर्मा, जिल्ला अध्यक्ष लोचनराज रेग्मी, आधिकारिक कर्मचारी ट्रेड युनियनका कैलाली अध्यक्ष प्रेम बोगटी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव पुष्पराज भारतीले गरेका थिए ।
यसैबिच, भेलाले शंकर सिंहको संयोजकत्वमा २१ सदस्यीय प्रादेशिक समिति गठन गरिएको छ । समितिमा सेती अञ्चल कमिटी सदस्यमा लालबहादुर बोहरा र महाकाली अञ्चल कमिटी सदस्यमा मनोज विष्ट रहेका छन् ।
त्यस्तै, प्रदेश नम्बर ७ का नौ वटै जिल्लाबाट दुई/दुई जना गरी १८ जना सदस्य चयन गरिएको सचिव भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार