१० श्रावण २०८१, बिहीबार

जनसरोकारका मुद्दामा बढी ध्यान दिनुपर्‍यो



महेन्द्रनगर । समाजका विभिन्न पक्षले पत्रकारिता क्षेत्रले अझ बढी जनसरोकारका मुद्दामा ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार कञ्चनपुरमा भएको एक कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिले भने– जिल्लामा सञ्चारकर्मी तथा सञ्चार माध्यमले समाचार सामग्री, प्रस्तुति, लेखनशैली, भाषा आदिमा गम्भीर ध्यान दिनु आवश्यक छ ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा स्थानीय मिडियामा समाचार सामग्रीमा विविधकरण तथा समावेशीकरणको अवस्थाका सन्दर्भमा ‘नागरिकको दृष्टिमा कञ्चनपुरको पत्रकारिता’ शीर्षकमा भएको सार्वजनिक संवाद कार्यक्रमका सहभागीले समाचारको दीर्घकालीन प्रभावलाई ध्यान दिनु पनि उत्तिकै आवश्यक रहेको औल्याए ।
कार्यक्रममा सरकारी अधिकारीहरू, सुरक्षा अधिकारी, राजनीतिकर्मी, उद्योगी, व्यावसायी, अधिकारकर्मी, नागरिक अगुवा, सञ्चारकर्मी सहितको सहभागिता रहेको थियो । कार्यक्रममा कञ्चनपुरको पत्रकारिताका सबल र दुर्वल पक्ष, पत्रकारिताले बेहोरिरहेका चुनौती, समाजको अपेक्षा र सञ्चार माध्यमको प्रस्तुति, समाचार सामग्रीमा विविधिकरण र समावेशीकरणको अवस्था लगायतका पक्षमा घनिभूत चर्चा भएको थियो ।
कार्यक्रममा नागरिक अगुवा भूवन कुँवर (केसी) ले सामाजिक जवाफदेहितासहितको पत्रकारिताप्रति ध्यान दिन आग्रह गरिन् । उनले स्थानीय मिडियामा सामाजिक, आर्थिक समृद्धिका साथै समाजमा सकारात्मक प्रभाव गर्ने खालका समाचारको कमी रहेको चर्चा गरिन् ।
कञ्चनपुर बारका उपाध्यक्ष पुनम सिंह चन्दले समाचारको प्रभावबारेको सजगता र फलोअपमा कमजोरी रहेको बताइन् । उनले महिला, बालबालिका लगायतका संवेदनशील विषयमा गोपनियताको पक्षमा गम्भीर हुन सञ्चारकर्मी र सञ्चार माध्यमलाई आग्रह गरिन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष तारा लामा तामाङले पत्रकारिताप्रति समाजको बढी अपेक्षा रहेको चर्चा गरे । ‘तर, स्रोतसाधन, योग्यता, दक्षता आदिको दृष्टिबाट हामीले अपेक्षा गरेअनुसारका सामग्री पाउन नसकेको हुनसक्छ’ उनले समाजमा सकारात्मक प्रभाव पर्ने खालका खोजमुलक समाचार वृद्धिका लागि आग्रह गरे ।
नेपाली काँग्रेसका जिल्ला सदस्य चक्र महताले आर्थिक विकासका सम्भावनामा स्थानीय सञ्चार माध्यमले बढी ध्यान दिन आग्रह गरे ।
माओवादी केन्द्रका सचिवालय सचिव गणेश विकले स्थानीय सञ्चार माध्यममा वस्तुगत समाचार सामग्रीको कमी हुनुका साथै गम्भीर र दूरगामी महत्वका सवालमा सामाजिक, आर्थिक मुद्दामा कम ध्यान गएको अनुभव गरेको चर्चा गरे ।
नेपाल थरुहट पार्टीका केन्द्रीय सदस्य किर्तिबहादुर थापामगरले जिल्लामा नागरिक समाजले पत्रकारिता क्षेत्रमा हुने कुनै पनि किसिमको बिसंगति, विकृतिप्रति सधैं औला उठाउनु पर्ने बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी राजेश पौडेलले पत्रकारहरू विभिन्न कित्तामा विभाजन हुँदा एउटै घटनामा पनि तथ्यहरू फरकफरक ढङ्गले प्रस्तुत हुने गरेको चर्चा गरे । उनले समाचार प्रवाह प्रक्रिया सहज भए पनि त्यसले पार्ने प्रभाव कहिलेकाही असहज पनि हुनसक्ने प्रति सधैं सजग हुन आग्रह गरे ।
जिल्ला प्रहरी प्रमुख (एसपी) प्रकाशबहादुर चन्दले पत्रकारिता समाजमा दबाब समूहको भूमिकामा हुने भएकाले यसको अभावमा समाज, शासन अराजक बन्नसक्ने चर्चा गरे ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, वेदकोट नगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकरबहादुर चन्द, पत्रकारहरू विष्णु अवस्थी र रनि विवश, अधिकारकर्मी नारु सिंह, पार्वती रोस्यारा लगायतले स्थानीय समाचार माध्यम र समाचार सामग्रीको गुणस्तरबारे पक्षबारे चर्चा गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ, कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीको अध्यक्षतामा भएको थियो । वरिष्ठ पत्रकार चित्राङ्ग थापाले सहजीकरण गरेको सो कार्यक्रममा पत्रकार मनमोहन स्वारले कार्यक्रमबारे जानकारी दिएका थिए ।
सो अवसरमा महासंघका कैलाली जिल्ला सचिव एकिन्द्र तिमिल्सिनाले सुदूरपश्चिमको पत्रकारिताको अवस्थाबारे प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार