१९ बैशाख २०८१, बुधबार

धान संकलनमा वृद्धि



धनगढी । समर्थन मूल्यमा वृद्धि आएसंगै नेपाल खाद्य संस्थानमा धान संकलन बढेको छ । संस्थानले कैलालीमा धान संकलन शुरु गरेको जनाएको छ । शनिबारसम्म संस्थानले आठ हजार सात सय ७६ क्विन्टल धान संकलन गरेको जनाएको छ ।
संस्थानले टीकापुरमा तीन हजार आठ सय, भजनीमा दुई हजार आठ सय ४५ र धनगढीको मोहनपुरमा दुई हजार आठ सय २३ क्विन्टल धान संकलन गरेको संस्थानका अञ्चल प्रमुख डिल्लीराज लम्सालले बताए ।
उनले धानको समर्थन मूल्यमा बृद्धि गरेपछि संकलनमा बृद्धि आएको बताए । संस्थानले शुरुमा धानको मूल्य प्रति क्विन्टल एक हजार नौ सय ५० निर्धारण गरेको थियो । सो मूल्यमा धान पाउन नसकेपछि पुन: मूल्य निर्धारण भएको थियो । हाल धानको मूल्य प्रतिक्विन्टल दुई हजार एक सय रुपैया निर्धारण गरिएको छ ।
‘हामीले धानको मूल्य बृद्धि गरेसंगै दुई दिनमै दुई हजार चार सय ७६ क्विन्टल धान संकलन भएको छ’ उनले भने– यो आधारले हेर्दा अहिले दैनिक एक हजार पाँच सय क्विन्टल आधारमा औसत संकलन हुने गरेको छ ।
खाद्य संस्थानले यस वर्ष ५० हजार क्विन्टलधान संकलन गर्ने लक्ष्य लिएको छ । संस्थानले गत वर्ष पनि मंसिरमा धानको मूल्य एक हजार सात सय ५० रुपैया निर्धारण गर्दा धान संकलनमा कमी आएपछि पुसमा बृद्धि गरेर एक हजार नौ सय रुपैया निर्धारण गरेपछि संस्थानले ५७ हजार क्विन्टलधान संकलन गर्न सफल भएको उनले बताए ।
संस्थानले यस वर्षको भदौदेखि शनिबारसम्म सुदूर र मध्यपश्चिमका दुर्गम जिल्लामा १२ हजार कण्टल चामल पनि ढुवानी गरिसकेको जनाईएको छ ।
संस्थानका अनुसार सुदूरपश्चिमको बाजुरामा २० हजार कुण्टल, अछाममा दुई हजार, बैतडीमा पाँच हजार, दार्चुलामा सात हजार, बझांगमा पाँच हजार, हुम्लामा तीन हजार मुगुमा एक हजार पाँच सय र सुर्खेतमा आठ हजार क्विन्टलचामलको माग भएकोमा संस्थानले हालसम्म बाजुरामा सात हजार छ सय ५०, अछाममा चार सय १०, बैतडीमा तीन सय ४०, दार्चुलामा दुई हजार छ सय २७, बझांगमा चार सय छ र हुम्लामा सात सय ५० क्विन्टलचामल ढुवानी गरेको जनाएको छ ।

डिपो स्थापनामा मन्त्रालयले ध्यान दिदैन
संस्थानका अनुसार यस सुदूरपश्चिम क्षेत्रका छ ठाउँमा डिपो स्थापना गर्न जरुरी रहेको भएपनि मन्त्रालयले ध्यान नदिएको अञ्चल प्रमुख लम्सालले बताए । ‘हामीले प्रत्येक वर्ष यस क्षेत्रमा आवश्यक परेका ठाउँमा डिपो स्थापनाका लागि परिपत्र गरिनै रहन्छौ’ उनले भने ‘तर, मन्त्रालयले वेवास्ता गर्छ ।’ संस्थानले यस क्षेत्रको अछामको रामारोशन, बझांगको काडा, बाजुराको जुठी र धुलाचौर, दार्चुलाको हिकिला र एयरकोटमा डिपो स्थापना गर्न माग गर्दै पत्र पठाएको जनाईएको छ ।
सुदूरपश्चिमको बाजुरा, बझांग, अछाम र दार्चुला दुर्गम जिल्ला भएको र त्यहाँका मान्छेलाई चामल लिन धेरै घण्टा हिड्नुपर्ने बाँध्यता रहेकाले संस्थानले यी क्षेत्रमा डिपो स्थापनाका लागि पत्र पठाएपनि मन्त्रालयले वेवास्ता गरेको जनाईएको छ ।
संस्थानका अनुसार यस क्षेत्रमा हालसम्म १५ डिपो रहेका छन् । जसमध्ये बाजुरामा दुई, अछाम, बझांग, बैतडी र दार्चुलामा तीन/तीन डिपो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार