२३ आश्विन २०८३, शुक्रबार

२१२ जनाको निःशुल्क दन्त परीक्षण, १० जनाले गरे रक्तदान




काठमाडौ/ काठमाडौंको नरेफाँटस्थित विद्याञ्जली स्कुल तथा क्याम्पसमा निःशुल्क दन्त परीक्षण तथा औषधि वितरण शिविर सम्पन्न भएको छ। शिविरमा २१२ जनाले दन्त स्वास्थ्य सेवा लिएका छन् भने १० जनाले रक्तदान गरेका छन्।

ओम चावहिल डेन्टल अस्पताल प्रालि र कल्प फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा विद्यार्थी तथा स्थानीय समुदायका व्यक्तिहरूले दन्त परीक्षण तथा आवश्यक औषधि प्राप्त गरेका थिए। दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरसँगै लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको आयोजनामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। दन्त स्वास्थ्य परीक्षण र रक्तदानलाई एकैसाथ अघि बढाएर आयोजकले स्वास्थ्य सेवा तथा मानवीय सहयोगको सन्देश प्रवाह गरेका छन्।

कार्यक्रममा विद्याञ्जली स्कुल तथा क्याम्पसकी प्रिन्सिपल करुणा रिजालले सहभागी तथा उपस्थित अतिथिहरूलाई स्वागत गरेकी थिइन्।

कार्यक्रममा बीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझी, लायन्सका अध्यक्ष तथा प्रतिनिधि, ओम चावहिल डेन्टल अस्पतालका सञ्चालक कृष्ण घिमिरे, बीटीआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलीपराज बराल, कार्यक्रम व्यवस्थापक राजन अधिकारीलगायतको उपस्थिति थियो। शिविर सञ्चालनमा प्राविधिक तथा व्यवस्थापकीय टोलीले सहयोग गरेको आयोजकले जनाएको छ।

स्वास्थ्य सेवाको पहुँच विस्तार र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै बीटीआई ग्रुपअन्तर्गतको कल्प फाउन्डेसन र ओम चावहिल डेन्टल अस्पतालले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।

निःशुल्क दन्त परीक्षण, औषधि वितरण र रक्तदान कार्यक्रमले विद्यार्थी तथा स्थानीय समुदायलाई स्वास्थ्य सेवासँग जोड्नुका साथै सामाजिक सेवामा सामूहिक सहभागिताको महत्त्वसमेत उजागर गरेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार