अछाम–२ मा सहमतिबाट नेतृत्व चयन गर्न सात सदस्यीय सहजीकरण समिति
अछाम/ नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ ले आगामी क्षेत्रीय अधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने पहल थालेको छ । अधिवेशनलाई गुटगत प्रतिस्पर्धाभन्दा सहमति र सहकार्यका आधारमा सम्पन्न गर्ने उद्देश्यले क्षेत्रीय कार्यसमितिले सात सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।
क्षेत्रीय कार्यसमितिका सभापति पुष्पराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिलाई समेटेर समिति गठन गरेको क्षेत्रीय उपसभापति ताराप्रसाद खनालले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश कांग्रेसकी सहमहामन्त्री अम्बिका चलाउनेको संयोजकत्वमा गठित समितिमा कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह, पूर्वसांसद रामबहादुर विष्ट, सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना, महासमिति सदस्य सुरतबहादुर विष्ट, महासमिति सदस्य पदमराज अधिकारी र क्षेत्रीय सभापति पुष्पराज शर्मा सदस्य रहेका छन् ।
समितिलाई आगामी १० गते हुने क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति तथा प्रदेश ‘क’ र ‘ख’ कार्यसमितिको नेतृत्व सहमतिका आधारमा चयन गर्न आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
पार्टीभित्र नेतृत्वका लागि आकांक्षी बढ्दै जाँदा अधिवेशनमा प्रतिस्पर्धा तीव्र बन्न सक्ने सम्भावनाबीच कांग्रेस क्षेत्र नम्बर २ ले सहमतिको बाटो रोजेको हो । नेताहरूबीच समन्वय गरी सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनाउन समिति सक्रिय हुने बताइएको छ ।
बैठकले अधिवेशनलाई पार्टीको आन्तरिक एकता र सहकार्य थप बलियो बनाउने अवसरका रूपमा उपयोग गर्ने निर्णयसमेत गरेको छ । सहमति जुटाएर नेतृत्व चयन गर्न सके पार्टीभित्रको गुटगत असन्तुष्टि कम हुने र आगामी निर्वाचनमा समेत एकताबद्ध भएर अघि बढ्न सहज हुने कांग्रेस नेताहरूको अपेक्षा छ ।
सहजीकरण समितिले अधिवेशनअघि नै विभिन्न तहका नेता तथा आकांक्षीसँग छलफल गरी साझा सहमति निर्माण गर्ने तयारी गरेको छ ।




