१ आश्विन २०८३, बिहिबार

देउवा पक्षका सबै माग सम्बोधन भइसके : थापा



काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि इतर पक्षबाट राखिएका मागहरू सम्बोधन भइसकेको दाबी गरेका छन्।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले नेता पूर्णबहादुर खड्काले अघि सारेका आठ तथा नेता शेखर कोइरालाले राखेका पाँच बुँदे माग सम्बोधन भइसकेको बताएका हुन्।

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूले सक्ने सबै प्रयास गर्न तयार रहेको उल्लेख गर्दै थापाले अब आन्तरिक विवादमा अल्झिनुभन्दा महाधिवेशनको प्रक्रियामा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिए।

बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरू पनि सहभागी भएका छन्। त्यस क्रममा थापाले पूर्वसभापति देउवालाई आसन्न वडा अधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन आग्रह गरे।

‘३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन हुँदै छ। उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुन्छ,’ थापाले भने।

उनले देउवा विधानअनुसार पुनः सभापति बन्ने अवस्थामा नरहेको उल्लेख गर्दै पार्टीको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने बताए।

‘यो पार्टीको विधानले उहाँ सभापति हुने होइन, उहाँ जसरी पनि बिदा नै भएर जाने हो,’ थापाले भने।

सभापति थापाले इतर समूहले राखेका माग पूरा भइसकेको भन्दै अब पूर्वपदाधिकारी तथा असन्तुष्ट नेताहरूलाई समेत अधिवेशनको प्रक्रियामा सहभागी हुन आग्रह गरे।

पार्टीको आन्तरिक मतभेदलाई लम्ब्याउँदा संगठन कमजोर हुने भन्दै उनले कांग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सबै नेताको भएको बताए।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार