विपद्पछिको पुनर्निर्माणमा जापानको सहयोग रहने राजदूत तोरुको प्रतिबद्धता
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले बुधबार साँझ शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा पछिल्लो विपद्का कारण नेपालमा भएको जनधनको क्षति तथा विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे।
प्रधानमन्त्री शाहले विपद्का बेला जापानबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
राजदूत तोरुले विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। उनले विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जापान सरकार नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।
भेटवार्तामा नेपाल–जापानबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा समेत छलफल भएको थियो।
दुवै पक्षले आगामी दिनमा नेपाल र जापानबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापन, पुनर्निर्माण तथा विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि कुराकानी गरेका थिए।




