४ भदौ २०८३, बिहिबार

गुडवीभ फाउन्डेसनको वार्षिक सामाजिक परीक्षण



काठमाडौ/ समाज कल्याण परिषद्का सदस्यसचिव चक्रबहादुर बुढाले राष्ट्रिय विकास र समृद्धिका लागि सबै संस्थाले काम गर्नुपर्ने बताएका छन्।

नेपाल गुडवीभ फाउन्डेसनको वार्षिक सामाजिक परीक्षण कार्यक्रममा बिहीबार बोल्दै सदस्यसचिव बुढाले सो कुरा बताएका हुन्।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिवसमेत रहेका बुढाले काम गरिरहेका संस्थालाई प्रेरित गर्ने र निष्क्रिय संस्थालाई बन्द गर्नुपर्ने धारणा राखे।

सो अवसरमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले गुडवीभ फाउन्डेसनले बालश्रम उन्मूलनमा गरेका कामको प्रशंसा गर्दै आजको साधारणसभाबाट नयाँ कार्यसमिति अझ सक्षम र समावेशी आउने धारणा राखे।

गुडवीभ फाउन्डेसनका महासचिव किरण थापाले संस्थाको इतिहास र वर्तमान गतिविधिबारे प्रकाश पारेका थिए। उनले गत आर्थिक वर्षको करिब दुई करोड रुपियाँको आय–व्यय विवरणसमेत प्रस्तुत गरे।

गुडवीभ फाउन्डेसनका कार्यवाहक अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बालअभियन्ता तथा काठमाडौँ विश्वविद्यालयकी प्रोफेसर डा. रूपा मुनाकर्मी, वरिष्ठ अधिवक्ता विनोदबहादुर कार्की, राष्ट्रिय कार्य समन्वय समूह नेपालका नरेन्द्र डंगोल, गोकर्णेश्वर नगरपालिकाकी मीना थापालगायतको सहभागिता थियो।

कार्यक्रममा सामाजिक परीक्षणसम्बन्धी छलफल विज्ञ सन्तोष महर्जनले सहजीकरण गरेका थिए। सहभागीहरूले गुडवीभ फाउन्डेसनले सञ्चालन गरेका विभिन्न कार्यक्रमबारे जिज्ञासा तथा प्रश्न राखेका थिए।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार