नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

काठमाडौं / इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेशनले मंगलबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो।
कम्पनीले टी २५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ। यो नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल हो। नयाँ मोडलसँगै कम्पनीले नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरेको छ।

यसअघि नेपाली बजारमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टअन्तर्गत टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर बिक्री हुँदै आएका छन्। टी २५० एक्सलाई कम्पनीले सोही लाइनअपको इन्ट्री–लेभल एड्भेन्चर मोटरसाइकलका रूपमा प्रस्तुत गरेको हो।
टी २५० एक्समा २४९.४ सीसी सिंगल–सिलिन्डर, फोर–भल्भ, एयर–कुल्ड ईएफआई इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा अधिकतम २२.४ हर्सपावर तथा ६ हजार आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ। मोटरसाइकलमा ६–स्पिड गियरबक्स रहेको छ भने यसको अधिकतम गति करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।
मोटरसाइकलमा १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल, लङ–ट्राभल यूएसडी फ्रन्ट फोर्क तथा रियर प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ। स्पोक ह्वील, डिस्क ब्रेक र डुअल–पर्पस टायरका कारण सडक तथा अफरोड दुवै अवस्थामा स्थिरता र नियन्त्रण कायम गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ।

१५४ किलोग्राम तौल रहेको टी २५० एक्समा २२० एमएम ग्राउण्ड क्लियरेन्स, ८२० एमएम सिट हाइट र ११.७ लिटर क्षमताको फ्युल ट्यांक छ। उच्च ग्राउण्ड क्लियरेन्स र एड्भेन्चरमैत्री संरचनाका कारण नेपाली सडक तथा अफरोड यात्राका लागि यो उपयुक्त हुने कम्पनीको विश्वास छ।
एड्भेन्चर तथा टुरिङमा रुचि राख्ने मोटरसाइकल पारखीलाई लक्षित गरी ल्याइएको टी २५० एक्सले आकर्षक डिजाइन, प्रदर्शन र आधुनिक प्रविधिमार्फत नेपाली बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।
बैद्यज अर्गनाइजेशनका अनुसार नयाँ मोटरसाइकल किफायती मूल्यमा एड्भेन्चर मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गरी ल्याइएको हो। टी २५० एक्समार्फत मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टलाई थप फराकिलो बनाउँदै नेपाली युवा तथा एड्भेन्चर राइडरमाझ ब्रान्डको पहुँच विस्तार गर्ने कम्पनीको लक्ष्य छ।




