२० श्रावण २०८३, बुधबार

लगानी बोर्डको सीईओमा याङ्की




काठमाडौं/ नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनी, प्रशासनिक तथा संस्थागत सुधारसँग सम्बन्धित सात महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यससँगै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङ्की उक्याब, काठमाडौंलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपालभर लागू गर्ने निर्णय गरेको छ। यसैगरी, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिव पदमा प्रा. डा. रोजेश श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको राहत र उपचारको व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार