निर्वाचनमा निष्पक्ष पत्रकारिता अपरिहार्य : पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौ/ पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै पनि दबाब, प्रभाव वा पूर्वाग्रहबाट मुक्त भएर स्वतन्त्र र निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन्। निष्पक्ष पत्रकारिताले मात्र निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, विश्वसनीय र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
सेन्टर फर पोलिसी रिसर्चद्वारा आज काठमाडौँमा आयोजित निर्वाचनमा चौथो अङ्गः अनुसन्धानात्मक पत्रकारिता’ विषयक विमर्श तथा अन्तरक्रियामा बोल्दै थपलियाले पत्रकारिताको भूमिकाले निर्वाचनको विश्वसनीयता निर्धारण गर्ने बताए। पत्रकारले सत्य, तथ्य र सन्तुलनलाई प्राथमिकता दिएर कलम चलाए लोकतन्त्र अझ सुदृढ हुने उनको धारणा थियो।
उनले निर्वाचन गराउने निकायसम्बन्धी समाचार सम्प्रेषण गर्दा स्पष्टता र संवेदनशीलता आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन संविधानअनुसार हुनुपर्नेमा जोड दिए। सञ्चारमाध्यमले निर्वाचन प्रक्रियामा देखिने कमजोरी, अनियमितता तथा सम्भावित जोखिमबारे तथ्यमा आधारित अनुसन्धानात्मक सामग्री प्रकाशन गर्न सके लोकतान्त्रिक अभ्यास थप बलियो बन्ने बताए।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले निर्वाचनका समयमा पत्रकारले सामना गर्नुपर्ने व्यावसायिक चुनौती, आचारसंहिता र कानुनी सीमाका विषयमा चर्चा गरे। उनले निर्वाचनसम्बन्धी समाचार सङ्कलन र प्रकाशन गर्दा पत्रकारले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए।
सेन्टर फर पोलिसी रिसर्चका अध्यक्ष सीताराम भट्टराईले सो अन्तरक्रियाले निर्वाचन प्रक्रियामा पत्रकारिताको ‘चौथो अङ्ग’ को भूमिकालाई थप स्पष्ट बनाएको उल्लेख गरे।साथै, यसले पत्रकारहरूलाई जिम्मेवार, तथ्यपरक र अनुसन्धानमुखी पत्रकारिता गर्न प्रेरित गरेको उनले बताए।




