१९ मंसिर २०८२, शुक्रबार

ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा




काठमाडौ, मंसिर ९ गते/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शीर्ष पद अध्यक्षका लागि आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्। मंगलबार जारी गरेको एक विज्ञप्तिमार्फत उनले महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिने औपचारिक जानकारी दिएका हुन्।

यसअघि भएको पार्टी सचिवालय बैठकमै उनले अध्यक्ष बन्ने मनसाय प्रकट गरिसकेका थिए। तर मंगलबारको विज्ञप्तिले उनले अब औपचारिक रूपमा प्रक्रिया सुरु गरेको संकेत दिएको छ।

पार्टीलाई पुनःउत्थान र रूपान्तरणको मार्गमा लैजान कार्यकर्ताबाट प्राप्त सुझाव तथा आग्रहलाई आधार बनाएर आफूले उम्मेदवारी अघि सारेको पोखरेलको भनाइ छ। साथै, वर्तमान अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सहयोगी भूमिका खेल्ने अपेक्षा पनि उनले व्यक्त गरेका छन्।

एघारौँ महाधिवेशन मंसिरको अन्तिम सातामा निर्धारण गरिएको छ। त्यही महाधिवेशनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा छन्, जसका लागि उनले पार्टी विधानसमेत संशोधन गराइसकेका छन्। तर, जेनजी आन्दोलनपछि देशको राजनीतिक वातावरण बदलिएको भन्दै अब ओलीले नेतृत्व छाड्नुपर्ने आवश्यकता रहेको तर्क पोखरेल पक्षले उठाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार