मोबाइलको लतले युवालाई गलत तत्वले प्रयोग गरे महासचिव पोखरेल

काठमाडौं, कात्तिक १७ गते/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्ला आन्दोलनमा ‘मोबाइलको लत’ बसेका युवाहरूलाई गलत तत्वहरूले प्रयोग गरेको दाबी गरेका छन्।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रविधिप्रतिको अत्यधिक आकर्षण र मोबाइलमा निर्भरता नै केही युवालाई भ्रमित बनाएको बताए।
‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ उनले भने, ‘सूचना प्रविधिप्रतिको लत कति गहिरो छ भन्ने कुरा पछिल्ला घटनाक्रमले देखाएको छ।’
उनका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनमा ‘जेनजी’ भनिने नयाँ पुस्ताका युवाले अघि सारेका मुद्दा स्वभावतः अनुचित भने थिएनन्, तर मागहरू औपचारिक रूपमा सरकारसम्म नपुगेको कारण ती आन्दोलनहरू स्पष्ट नेतृत्वविहीन बने।
‘जेनजीका युवाले राखेका माग उचित थिए, तर ती माग सरकारसमक्ष व्यवस्थित रूपमा प्रस्तुत भएनन्,’ पोखरेलले भने, ‘त्यसैले कसले आन्दोलनको नेतृत्व गर्यो भन्ने कुरा पूर्ववर्ती सरकारले बुझ्नै सकेन।’
उनले केही समूहले आन्दोलनका विषयलाई आफ्नो स्वार्थअनुसार तोडमोड गरी सरकारप्रति गलत धारणा फैलाउने प्रयास गरेको आरोप समेत लगाए।
‘सरकारले चासो देखाएन भन्ने जबरजस्ती धारणा स्थापना गर्न खोजिएको छ,’ उनले थपे, ‘वास्तवमा परिस्थितिलाई आफ्नो स्वार्थअनुकूल अघि बढाउन केही तत्वहरूले घटनालाई बढाए भन्ने कुरा पछिल्ला घटनाले पुष्टि गर्छ।




