१९ मंसिर २०८२, शुक्रबार

माओवादी केन्द्रको अगुवाइमा १८ बुँदे ‘बृहत् कम्युनिष्ट एकता’ समझदारी



काठमाडौँ, कात्तिक १६ / नेपाली वाम राजनीतिमा नयाँ मोड आउने संकेत देखिएको छ। नेकपा (माओवादी केन्द्र) को पहलमा आठ वामपन्थी दलहरूबीच पार्टी एकताको १८ बुँदे सहमति भएको छ।

ती दलहरूले आउँदो कात्तिक १९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गर्दै छन्।

आइतबार माओवादी केन्द्रको पेरिसडाँडा कार्यालयमा बसेको संयुक्त बैठकमा नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै “समाजवादी रूपान्तरणतर्फको साझा यात्राको सुरुवात” भएको घोषणा गरेका छन्।

वाम एकता : नयाँ राजनीतिक अध्यायको सुरुवात
सहमति अनुसार, नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) , नेपाल समाजवादी पार्टी, समाजवादी जनसमाजवादी पार्टी (नेपाल), नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत दलहरू एकीकृत भएर नयाँ पार्टी बनाउने भएका छन्।

यी दलहरूले संयुक्त रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता सुदृढीकरण, सुशासन र सामाजिक न्याय प्रवद्र्धन, र वैज्ञानिक समाजवादको स्थापनातर्फ अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेका छन्।

साझा वैचारिक दिशानिर्देश मार्क्सवाद–लेनिनवाद, र कार्यदिशा नेपाली विशेषताको समाजवाद हुने सहमति गरिएको छ।

शान्तिपूर्ण संघर्ष, तर सबै मोर्चामा तयारी
एकता दस्तावेजमा भनिएको छ “संघर्षको स्वरूप शान्तिपूर्ण रहनेछ, तर आवश्यक परे सडक, सदन र सरकार सबै मोर्चामा समानान्तर रूपमा लडाइँ सम्भव हुनेछ।”

राजनीतिक विश्लेषकहरूको भनाइमा, यो धारणा वाम शक्तिहरूले निकट भविष्यमा सामूहिक दबाब र वैचारिक आक्रमणका लागि तयारी गरिरहेको संकेत हो।

कात्तिक १९ मा ‘एकता राष्ट्रिय सम्मेलन’
एकता प्रक्रियाको पहिलो चरण अन्तर्गत कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने छ।
सो सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित, तथा अन्तरिम केन्द्रीय समिति गठन गरिनेछ।
६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गरी स्थायी संरचना निर्माण गरिने योजना छ।

सामूहिक नेतृत्व र जनवादी केन्द्रीयता
नयाँ पार्टीमा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति गठन गरिनेछ।
हरेक तहमा संयोजक र सहसंयोजकको संरचना रहनेछ भने नेतृत्व प्रणाली सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तमा आधारित हुनेछ।

दलका संगठन र जनसङ्गठनहरूमा पनि सहभागी घटकहरूबाट इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजक तोकिनेछन्।
सदस्यहरूले अधिकतम दुई तहसम्मको समितिमा रहने व्यवस्था पाउनेछन्।

कार्यदल र अन्तिम घोषणा सम्मेलनमै
एकता घोषणा पछि संयुक्त कार्यदल गठन गरी राजनीतिक प्रतिवेदन, कार्यक्रम र दस्तावेज तयार पारिनेछ।
पार्टीको नाम र चुनाव चिन्ह भने घोषणा सम्मेलनमै सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार