सर्वदलीय बैठकमा दलहरूको जोड : निर्वाचन सुरक्षाको सुनिश्चितता होस

काठमाडौं, असोज ४ गते/ प्रधानमन्त्री शुशिला कार्कीले प्रधानमन्त्री निवास वालुवाटारमा आज बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले आसन्न निर्वाचनप्रति प्रतिबद्धता जनाउँदै सुरक्षा व्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्।
बैठकमा सहभागी अधिकांश दलका नेताहरूले निर्वाचन समयमै हुनुपर्नेमा सहमति जनाएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार, बैठकमा सबै दल निर्वाचनमा जान तयार रहेको संकेत मिलेको छ।
निर्वाचनमा जाने विषयमा एकमत देखिएको छ मन्त्री खरेलले जानकारी दिँदै भने, तर, सबै दलको जोड सरकारले सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्छ भन्नेमा छ।
बैठकमा नेताहरूले पालैपालो धारणा राख्ने क्रममा एमाले पक्षबाट उठाइएको शंका पनि औँल्याइएका छन्। उनीहरूका अनुसार, एमालेले वर्तमान सरकारबाट निष्पक्ष र सफल निर्वाचन सम्भव नहुने आशंका त व्यक्त गर्यो, तर प्रत्यक्षरूपमा निर्वाचनको विरोध भने गरेन।
बैठकको पहिलो चरणमा अधिकांश नेताहरूले आ–आफ्नो भनाइ राखिसकेको मन्त्री खरेलले बताए।
मंगलबार राति करिब ८ : ४५ मा सकिएको बैठकमा नेपाली कांग्रेसका गगन थापा, प्रकाशशरण महत, एमालेका शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली, माओवादीका वर्षमान पुन, पम्फा भुसाल, रास्वपाका स्वर्णिम वाग्ले, सोविता गौतम
राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ, सहभागी थिए ।
यस्तै गरेर अन्य दलका उपेन्द्र यादव, प्रकाश अधिकारी, राजेन्द्र पाण्डे र प्रकाश ज्वाला, सर्वेन्द्रनाथ शुक्ल, रेशम चौधरी,प्रेम सुवाल
चन्दन सिंह र पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि बैठकमा सहभागी थिए ।
यसैवीच प्रधानमन्त्री कार्कीले सामाजिक संजाल एक्समा आगामी निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप दलहरूसँग सौहार्दपूर्ण संवाद भएको बताएकी छन् ।
निर्वाचनको आवश्यकतामा कसैको विमति छैन। सबै पक्षका चासो र चिन्ता सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन गर्न सरकार कटिबद्ध छ, आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ, उनले भनेकी छन् ।




