कटाक्ष सुनाउने होइन, सुन्न सक्ने नेतृत्वको खाँचो छ
राजनीतिक प्रतिवेदनलाई २४ घण्टा नपुग्दै असफल भएको छ
जनताको आक्रोश एमालेमाथि भन्दा पनि अध्यक्ष र उनलाई नियन्त्रण गर्ने समुहसंग छ
पार्टीभित्र भ्रस्टाचार र अनैतिकतामा संलग्न नेताहरूको छानबिन किन नगर्ने

काठमाडौं, असोज ३१/ नेकपा (एमाले) को शुक्रबारको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंहले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि प्रकट गर्दै १० बुँदे कडा टिप्पणी गरेका छन्। उनले नेतृत्वले केवल आफूलाई रुचिकर कुरा मात्रै सुन्ने प्रवृत्ति अपनाएको र यसले पार्टीलाई विनाशको दिशातर्फ लैजाने खतरा रहेको स्पष्ट पारे।
राजनीतिक प्रतिवेदन २४ घण्टामै फेल
सिंहले भदौ २२ गते प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनलाई २४ घण्टा नपुग्दै असफल भएको भन्दै आलोचना गरे। जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने भनिएको राजनीतिक दृष्टिकोण वस्तुगत विश्लेषणमा आधारित छैन, उनले भने, यस्तो रणनीति लिएर पाँच वर्षको यात्रा कसरी सम्भव होला ?
भदौ २३ को नरसंहार र २४ को विध्वंस
उनले सत्ता हातमा हुँदा भएको घटनाको जिम्मेवारीबाट एमाले उन्मुक्त हुन नसक्ने उल्लेख गरे। २४ गतेको विध्वंस २३ गतेकै नरसंहारको प्रतिक्रिया हो भन्दै उनले त्यसमा घुसपैठ र विदेशी षड्यन्त्र भनेर पन्छिन खोज्नु अर्कमण्यता भएको बताए।
भ्रष्टाचार र नेतृत्वको सवालमा सिधा प्रश्न
सिंहले पार्टीभित्र भ्रस्टाचार र अनैतिकतामा संलग्न नेताहरूको छानबिन किन नगर्ने भन्ने प्रश्न उठाए। डेढ दर्जनभन्दा बढी आरोपितहरू पार्टीमै छन्, तर संस्थागत कारवाही कहिल्यै नहुने उनले प्रश्न गरे।
अध्यक्ष र घेराबन्दीको यथार्थ आत्मसात गर्नुपर्ने
उनले जनताको आक्रोश एमालेमाथि भन्दा पनि अध्यक्ष र उनलाई नियन्त्रण गर्ने समुहसंग छ। त्यसैले अध्यक्ष ओलीले जिम्मेवारी हस्तान्तरणमार्फत मार्गप्रशस्त गर्नुपर्ने सुझाव केन्द्रीय सदस्य सिंहले दिए।
राजीनामा दिने विद्यार्थी नेतादेखि संसद विघटनसम्म
एउटा समयको गौरवशाली संगठन अनेरास्ववियुको अध्यक्ष समेत टिक्न नसक्ने अवस्था आएको छ, भन्दै उनले संगठनमा नेतृत्व चयनको कार्यशैलीमाथि प्रश्न उठाए। साथै, दुई पटक संसद विघटन गरेको पार्टीले पुनःस्थापनाको माग गर्नु हास्यास्पद भएको टिप्पणी पनि गरे।
विद्या भण्डारीको पुनर्सक्रियता माग
केन्द्रीय सदस्य सिंहले उनले पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरी पार्टी काममा पुनः सक्रिय गराउन माग गरे।




