जेनजी भन्दै धम्काउने अर्जुन शाहीसँग भेटियो प्रहरीको परिचयपत्र

काठमाडौं, असोज ३०/ आफूलाई ‘जेनजी’ बताउँदै विभिन्न सरकारी निकायमा धम्क्याउने गतिविधिमा संलग्न अर्जुनबहादुर शाहीको साथबाट एक प्रहरी सहायक निरीक्षक (असई) को सरकारी परिचयपत्र बरामद भएको खुलासा भएको छ।
कुमार शर्मा नाममा रहेको उक्त आईडी कार्ड शाहीसँगै फेला परेको हो, जसले घटनालाई झनै शंकास्पद बनाएको छ। ती असई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए, र हाल इन्स्पेक्टर बन्ने तालिमको तयारीमा रहेका छन्।
शर्माले आफ्नो परिचयपत्र हराएको दाबी गरेका छन्, तर त्यो पत्र गलत व्यक्तिको हातमा कसरी पुग्यो भन्नेबारेमा प्रहरीले विस्तृत अनुसन्धान थालिएको जनाएको छ।
कहिले जेनजी’, कहिले नागरिक अभियन्ता’
२६ वर्षीय शाही आफुलाई जेनजी अभियानुका नाममा प्रस्तुत गर्दै आएका थिए। उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, अख्तियारको केन्द्रीय कार्यालयसम्म अनुगमनको नाममा धम्क्याउने र ज्ञापनपत्र बुझाउने कार्य गरेका थिए।
केही दिन अघि उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग्दै दबाब दिएका थिए। यस क्रममा उनले कुनै पनि आधिकारिक प्रतिनिधित्वबिना सरकारी कार्यालयहरूमा प्रवेश गरेका थिए, जुन आफैंमा आपत्तिजनक मानिएको छ।
प्रारम्भिक अनुसन्धान स् विवादास्पद विगत
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शाहीको विगत पनि सामान्य देखिँदैन। उनी अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का स्थायी बासिन्दा हुन्।
तर कक्षा ८ मा पढ्दाखेरी उनी बाख्रा चोरीको घटनामा संलग्न रहेको प्रहरी अभिलेखले देखाएको छ। ती घटनामा उनका दुई साथीहरूमध्ये एक पक्राउ परे पनि शाही फरार भएर गाउँ छाडेका थिए।
प्रहरी स्रोतका अनुसार, शाहीको परिवारसँग पनि उनको राम्रो सम्बन्ध छैन, र उनी आफ्नो वास्तविक पहिचान ढाकछोप गरेर राजधानीमा सक्रिय हुँदै आएका थिए।
पक्राउपछि अनुसन्धान गहिरिंदै
शाहीलाई बुधबार कोटेश्वरबाट पक्राउ गरिएको हो। उनीमाथि सरकारी कार्यालयहरूमा अनधिकृत प्रवेश, भ्रम सिर्जना, डरत्रास फैलाउने र ठगीजस्ता सम्भावित आरोपमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरी स्रोतले जनाएको छ — ‘शाहीले गलत परिचय, हराएको सरकारी परिचयपत्र र आक्रामक शैली प्रयोग गर्दै आफूलाई प्रभावशाली बनाउने प्रयास गरेका छन्।’
अहिले उनको सञ्जाल, सम्भावित संलग्नता र उनको पहुँच कसरी विभिन्न उच्च निकायसम्म पुगेको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ।




